काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टकरावबीच उद्योगहरूमा लोडसेडिङ हुन थालेको छ।
बुधबार ऊर्जामन्त्री खड्काले राष्ट्रियसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा लोडसेडिङ हुनसक्ने बताएका थिए। लगत्तै प्राधिकरणका निर्देशक घिसिङले नागरिकको घरमा लोडसेडिङ नहुने बताए।
आजको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद ठाकुर गैरेले लोडसेडिङलाई लिएर मन्त्री र प्राधिकरणका निर्देशकले फरक(फरक सूचना दिएर जनतालाई भ्रम पारेको भन्दै सरकारको ध्यानाकर्षण गराए। संसद् बैठकमा गैरेले मन्त्री र कार्यकारी निर्देशकले दिएर फरक(फरक सूचनालाई जनताले कसरी बुझ्नेरु भन्दै प्रश्नसमेत गरे।
उनले भने, ‘हिजो दुईवटा समाचार आए, मन्त्रीजी भन्नुहुन्छ, लोडसेडिङ हुन्छ, सुरु भयो। अर्कोतिर कार्यकारी प्रमुख भन्नुहुन्छ लोडसेडिङ छैन, हुँदैन, ढुक्क हुनुस्। एउटै सरकारबाट जनतालाई दिन खोजेको सन्देश के होरु के आज यस्ता चिजहरू शोभायमान छन्रु यसले देशलाई अन्योलतातिर लगिरहेको छ।’
हाल औद्योगिक क्षेत्रमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको छ। भारतले दिउँसो मात्रै विद्युत् दिन थालेपछि देशको पूर्वी क्षेत्रका औद्योगिक ग्रिडमा १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको स्रोतको दाबी छ।
नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोष पनि घुमाउरो तरिकाले लोडसेडिङ भएको स्वीकार्छन्। उनी भन्छन्, 'पहिलो प्राथमिकता पैसा तिर्ने नागरिकको घरमा बत्ती बलोस् भन्ने हो, दोस्रो उद्योगहरुमा हो, तेस्रो पुगेन भने डेडिकेटेडलाइनमा।' सञ्चालक समितिले विद्युत आपूर्ति गर्ने निर्णय नगरिदिँदा अहिलेको समस्या आएको उनको भनाइ छ।
नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
ऊर्जा मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालयमार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ। उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो।
भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसकारण उद्योगहरू प्रभावित भएका छन्।