काठमाडौँ । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ । त्यसप्रति आपत्ति जनाउँदै सांसदहरूले भत्र्सना गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद मनिष झा, जनमत पार्टीका सांसद अब्दुल खान, स्वतन्त्र सांसद अमेरशकुमार सिंह, सम्झना थपलिया, रणेन्द्र बराली, प्रभु हजारा, शान्ति विक लगायतले आपत्ति जनाएका छन् ।
उनीहरूले यस घटनाप्रति आपत्ति जनाउँदै दलितहरूले न्याय खोज्दै अन्तर्राष्ट्रिय अदालत ‘हेग’ जानुपर्ने अवस्था समेत आएको बताएका छन् । दलित भन्दै डोम परिवारको घरको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।