ऊर्जामन्त्री खड्काको घोषणा - अब साँझमा लोडसेडिङ सुरु हुन्छ

ऊर्जामन्त्री खड्काको घोषणा - अब साँझमा लोडसेडिङ सुरु हुन्छ

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले साँझमा लोडसेडिङ हुने बताएका छन्। बुधबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै खड्काले अब लोडसेडिङ रोक्न नसक्ने बताएका हुन्। 

'अहिले पनि ८२५ मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुगनपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,' उनले भने।

भारतबाट विद्युत आयात गरेर कृत्रिम रुपमा लोडसेडिङ अन्त्य गरिए पनि अब भने थेग्न सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाइ छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उज्यालो नेपालको नायक नभएको दाबी गरे।  

कुलमानले उद्योगको लाइन काटेर घरमा बिजुली दिएर लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप पनि मन्त्री खड्काले लगाए। 

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गरे। उनले अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपुर्ति धानिरहेको बताए।