ऐतिहासिक विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा, द्वन्द्व पीडितका समस्या अझै उस्तै

ऐतिहासिक विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा, द्वन्द्व पीडितका समस्या अझै उस्तै

काठमाडौं : तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्ष लामो सशस्त्र संघर्ष औपचारिक रूपमा अन्त्य भएको १३ वर्ष पूरा भएको छ ।२०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र विद्रोहीका तर्फबाट तत्कालीन माओवादी अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

योसँगै दशक लामो द्वन्द्वबाट मुलुकले मुक्ति पाएको थियो ।सम्झौताले राजनीतिक व्यवस्था र आन्तरिक विद्रोहको चपेटाबाट देशले पनि मुक्ति पायो। मुलुकमा विद्यमान वर्गीय, जातीय, क्षेत्रिय तथा लैंगिक समस्याहरुलाई समाधान गर्न राज्यको अग्रगामी पुनः संरचनाको संकल्पसहित तत्कालिन राजनीतिक दलहरूले शान्ति सम्झौतामा हस्ताक्षर गरे।

विभिन्न दलहरू एक ठाँउमा उभिएर गरिएको सो सम्झौतापछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन भएको थियो। शान्ति सम्झौतासँगै दलहरुबीच भएको राजनीतिक एकताले झण्डै २ सय ४० वर्षे राजसंस्थाको अन्त्य भयो।

यद्यपि शान्ति सम्झौता भएको एक दशक पुग्दा समेत ६० दिनमा गर्ने भनिएका शान्ति प्रक्रियाका कतिपय महत्त्वपूर्ण कामहरू अझै पूरा हुन सकेको छैन। सशस्त्र द्वन्द्वका क्रममा पीडामा परेकाहरूलाई न्याय दिन र पीडकलाई कानुनी दायरा ल्याउने भनेर दलहरूले प्रतिबद्धता जनाएको लामो समय बित्दा समेत त्यसले मूर्तरूप लिन सकेको छैन।

सरकारले द्वन्द्वकालीन घटनालाई सम्बोधन गर्न भनि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग गठन गरे पनि तिनले सोचेअनुरुप काम अघि बढाउन सकेका छैनन्। निकै ठूलो राजनीतिक उपलब्धिका रूपमा हेरिएको संविधानसभाबाट संविधान जारी गर्ने प्रयास सार्थक त भयो तर सशस्त्र द्वन्द्वको चपेटामा परेकाहरुको समस्या अझै उस्तै छ। सम्झौताका हस्ताक्षरकर्तामध्येका एक कोइरालाको निधन भइसकेको छ भने तत्कालीन विद्रोही समूहका प्रचण्ड एमालेसँग पार्टी एकीकरण गरेर नेकपाका अध्यक्ष छन् ।