काठमाडौँमा विहानैदेखि मापसे र लापसे चेकिङ : सवारी साधन दिनभरि होल्ड

काठमाडौँमा विहानैदेखि मापसे र लापसे चेकिङ : सवारी साधन दिनभरि होल्ड

काठमाडौं । होलीको बहानामा मादक र लागुपदार्थ सेवन गरी सवारी साधनमा चलाउने क्रमलाई आज विहानैदेखि कडाइ गरिने भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी विनोद घिमिरेका अनुसार आज मादक पदर्थ सेवनकर्ता (मापसे) भन्दा लागु औषध सेवनकर्ता (लापसे) बाट हुने दुर्घटनालाई बढी ध्यान दिइने भएको छ । उनका अनुसार त्यस्ता सवारी चालक फेला परेमा आफन्तको जिम्मा लगाइने र सवारी साधन दिनभरि चलाउन नपाइने गरी नियन्त्रणमा लिइने (होल्ड गरिने) भएको छ ।

‘चिट काटेर जरिवाना लिने हैन, आज त सवारी साधन नै राख्छौं’, उनले भने । उपत्यकाका विभिन्न स्थानमा त्यस्ता चालकले चलाउने सवारी साधन राख्नका लागि ठाउँ बनाइएको उनले बताए ।

ट्राफिक प्रहरी विहान ७ बजेदेखि नै ड्युटीस्थलमा पुगिसकेको, तर चेकिङको क्रम १०-११ बजेदेखि थालिने उनले बताए । ट्राफिक प्रहरीको चेकिङ टोलीले उपत्यकाका विभिन्न स्थानबाट आज विहानै केही लागुपदार्थ सेवनकर्ताका सवारी साधन नियन्त्रणमा लिइसकेको छ ।

ट्राफिकले उपत्यकाका तीनै जिल्ला प्रहरी परिसरसँग समन्वय गरेर चेकिङ टोली खटाएको छ । होलीका अवसरमा काठमाडौंको बसन्तपुर दरबार स्क्वायर, दरबारमार्ग, ठमेलसहितका विभिन्न १९ स्थानमा हुने कार्यक्रमलाई दृष्टिगत गर्दै विशेष सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताए । ‘कुनै पनि बाटो बन्द हुँदैन, तर गौरकानुनी कार्य नियन्त्रण गरिने छ’, उनले भने । लागु पदर्थ सेवन गर्नेको शरीर खानतलासी लिइने र त्यस्ता पदार्थ बरामद भएमा कानुनअनुसार कारवाही गरिने बोहराले बताए ।