प्रधानमन्त्रीले सम्बोधन गर्ने सभा बहिस्कार गर्ने विपक्षीको चेतावनी

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभा बहिस्कार गर्ने विपक्षीको चेतावनी

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोशी प्रदेशसभाको बैठकमा सम्बोधन गर्ने विषयमा विपक्षी दलले असन्तुष्टि जनाएपछि मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षीसँग छलफल थालेका छन् ।

प्रधानमन्त्रीले के विषयमा र किन सम्बोधन गर्ने भन्दै माओवादी सहितका विपक्षी दलहरूले विरोध गरेपछि मुख्यमन्त्रीले छलफल गरेका हुन् । प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । यसअघि उनले कर्णाली र सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गरेका थिए ।

‘बैठकमा के विषयमा सम्बोधन हुने हो रु माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वोले भने, ‘प्रधानमन्त्रीले गर्ने सम्बोधनका विषयमा मुख्यमन्त्रीसँग छलफलको कार्यक्रम तय भएको छ । हामी अहिले नै बहिस्कारको अवस्थामा छैनौँ ।’

उनले मुख्यमन्त्रीसँगको छलफल पछि पाटीको धारणा सार्वजनिक हुने बताए । उनले भने, ‘देशको प्रधानमन्त्री प्रदेश सभामा आउने विषयमा जानकारी माग गरेको हौ । मुख्यमन्त्रीले जानकारी किन र के विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने हो भेटमा जानकारी पाउने आशा लिएका छौँ ।’

आज पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएपछि ओलीले कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् । कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार प्रधानमन्त्रीको सम्बोधनका लागि दिउँसो २ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।