कैलाली । स्वामिकार्तिक खापर गाउँपालिका-२ फयाल गाउँका ३८ वर्षीय पुसे भण्डारीको समयमा उद्धार नहुँदा मृत्यु भएको छ ।
आइतबार माछा मार्न गएका उनी भीरबाट लडेर घाइते भएका थिए । घाइते अवस्थामा नै उनले आफूलाई उद्धार गर्न आग्रह गर्दै आफन्तहरूलाई फोन गरेका थिए।
प्रहरीसम्मलाई पनि पुसे भीरबाट खसेर घाइते भएको र तत्काल उद्धार गर्न आवश्यक रहेको खबर पुग्यो । साझ ७ः२० बजे प्रहरीलाई खबर पुगेको थियो । प्रहरी घटनास्थलमा पुग्दा १०ः३० बजिसकेको थियो ।
प्रहरीलाई सम्पर्क गरेको तीन घण्टापछि प्रहरी घटनास्थलमा त पुग्यो तर, पुसेको उद्धार भने हुन सकेन । त्यो बेलासम्म उनको मृत्यु भइसको थियो । बिकट क्षेत्र भएको हुँदा घटनास्थल मै पुग्न प्रहरीलाई समय लाग्यो ।
पुसेले सम्पर्क गरेका व्यक्तिहरू पनि घटनास्थल तर्फ गइरहेका थिए । तर, कर्णालीको भेलले गर्दा उनीहरु त्यहाँ पुग्न सकेनन् । घटनास्थलमा समयमा कोही नपुग्दा र समयमा उद्धार नहुँदा उनको मृत्यु भएको हो । अहिले शव निकाल्ने प्रयास भइरहेको छ ।