सुर्खेत । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।
कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो ।
हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको, हरेक उडानमा नोक्सान भएको भन्दै उडान बन्द गर्नुपरेको जनाएको छ ।
ट्राभल्सका मिनबहादुर रावलले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए । कर्णालीका हिमाली जिल्लामा जान नेपालगञ्जको भर
सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।
सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले सुर्खेतको विमानस्थलबाट उडान भरेको छैन भने कर्णालीमा एयरलाइन्सको कार्यालयसमेत छैन । सुर्खेतबाट यहाँका हिमाली जिल्लामा आवतजावतका लागि लुम्बिनी प्रदेशको नेपालगञ्ज विमानस्थल प्रयोग गर्नुपर्ने बाध्यता रहेको यात्रु बताउँछन् ।