काठमाडौँ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौंबाट पाँचजना पक्राउ परेका छन् ।
राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।
बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । पक्राउ परेका उनीहरुलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रहरीले उनीहरूका साथबाट पैसा गन्न प्रयोग हुने मेसिन एक थान, डिजिटल तराजु दुई थान, चार थान मोटरसाइकल र विभिन्न कम्पनीका ६ थान मोबाइल बरादम गरेको छ । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।