काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुने बताएका छन्।
जिफन्टद्वारा आज आयोजित नेपाली ट्रेड युनियन आन्दोलनको ७८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि बहानामा न्यूनतमभन्दा कम पारिश्रमिक दिएर श्रमिकलाई काम लगाएको पाइए दण्डनीय हुने बताएका हुन्।
उनले कुनै पनि बहानामा नर्सहरूलाई न्युनतमभन्दा कम तल दिन नहुने बताए। श्रमिकको मन प्रशन्न नभईकन उद्योग–व्यवसायका काम सहजरुपमा अघि बढ्न नसक्ने जनाउँदै उनले श्रमिकहरू रोजगारदातामा रुपान्तरण हुन सक्ने भएकाले आफूहरुले त्यस प्रकारको वातावरण सृजना गर्नुपर्नेमा जोड दिए।
नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘अब हामी परिवर्तनको मर्म अनुसार अघि बढ्नुपर्छ। हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार संवादका माध्यमबाट सरकार, रोजगारदाता र श्रमिकलाई विन विन अवस्थामा ल्याउन सक्नुपर्छ। सरकारले तटस्थ बसेर निष्पक्ष निष्कर्ष निकाल्नुपर्छ।’
उनले मिलेर बसेको नेपाली समाजलाई जात, धर्म र संस्कृतिका नाममा विभाजन गर्ने तथा काम गर्न खोज्ने विरुद्ध भ्रम र अवरोध सृजना गर्ने प्रवृत्तिलाई चिर्नुपर्ने आग्रह गर्दै व्यवस्था परिवर्तनपछि विकासको क्रम बढेको स्पष्ट गरे। ‘हामीलाई कसैको अनावश्यक विरोधसँग मतलव छैन। नचाहिने प्रदूषित कुरा हामी बोकेर हिँड्दैनौँ। हामीलाई देशको विकास र परिवर्तन गर्नुछ। विरोधका लागि विरोध गर्ने प्रवृत्ति आफैँ सेलाएर जान्छ। यसमा मजदूर आन्दोलन विगतदेखि नै सचेत छ भन्नेमा म विश्वस्त छु’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
हिमालहरु पग्लिएर मानवीय सभ्यता नै प्रभावमा पर्न थालेको सन्दर्भमा प्रधानमन्त्री ओलीले हिमालदेखि समुद्रसम्मको सुरक्षाको अवधारणाका साथ सहकार्य गर्न विश्व समुदायसँग आग्रह गरे।