प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने देउवाको दाउ

प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने देउवाको दाउ

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एक पटक प्रधानमन्त्री हुँदैछन्। यो सहमति त केपी शर्मा ओली र देउवाबीच आधा आधा कार्यकाल सत्ता सम्हाल्ने सहमति गरेकै दिन निश्चित भएको थियो। 

गत असार अन्तिम सातादेखि प्रधानमन्त्री भएका ओली करिब दुई वर्षजति प्रधानमन्त्री भएर २०८३ असारमा राजीनामा दिनेछन्। त्यसपछि देउवा प्रधानमन्त्री हुनेछन्।

नेपाली कांग्रेसमा १५ औं महाधिवेशन गर्ने र देउवा प्रधानमन्त्री बन्ने मिति नजिकै नजिकै पर्छ।  विधान अनुसार महाधिवेशन ०८२ को मंसिरमा हुनुपर्छ। देउवा प्रधानमन्त्री बन्न ०८३ असारसम्म कुर्नुपर्छ। यतिबेला महाधिवेशन पहिला गर्ने कि देउवा प्रधानमन्त्री बनेपछि महाधिवेशन गर्ने भन्ने विषयमा कांग्रेसमा पेचिलो बन्दै गएको छ।
 

तर महामन्त्री गगन थापालगायतका नेता भने २०८२ को मंसिरमै पार्टीको १५ औं महाधिवशन हुनुपर्छ भनेर सार्वनजिक अभिव्यक्ति दिइरहेका छन्। तर देउवा आफू प्रधानमन्त्री नभइ महाधिवेशन गर्न तयार छैनन्। 

गत साताको शुक्रबार देउवाले आफूले ०८२ मा पार्टीको १५औँ महाधिवेशन नगर्ने योजना चुहाए। आफूलाई सभापति बन्न सघाउने ११ नेताहरूसँग छलफल गर्दै देउवाले आफू प्रधानमन्त्री नहुँदासम्म महाधिवशन नगराउने योजना सुनाएका हुन्। 

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको समन्वयमा देउवा नजिकका नेताहरू बूढानीलकण्ठ पुगेका थिए। उपसभापति पूर्णबहादुर खड्का, पूर्वउपसभापतित्रय गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र विजयकुमार गच्छदार, प्रकाशमान सिंह, सहमहामन्त्री उमाकान्त चौधरी, प्रवक्ता डा. महतसहित राष्ट्रिय सभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला तथा नेताहरू बालकष्ण खाँड र एनपी साउदलगायत थिए। 

संस्थापन इतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले प्रत्यक्ष परोक्ष उम्मेदवारीको प्रचार थालिसक्दा संस्थापन पक्षको उम्मेदवार नभएको सन्देश गएकाले उम्मेदवार घोषणा गरिनुपर्ने माग गरिँदा देउवाले ११ भाइलाई स्पष्ट पार्दै समयमै महाधिवेशन नगर्ने बताएका हुन्।

यसअघि देउवाविरुद्ध सभापतिमा उम्मेदवारी दिइसकेका सिटौला, निधि र सिंहका साथै श्रेष्ठसमेत सभापतिको आकांक्षी छन्। उनीहरूको एउटै धारणा थियो– देउवाले आफूहरुमध्ये तोक्ने उमेदवारलाई सबैले स्वीकार गर्ने। देउवाले आफू सभापतिमा दोहोरिने पक्षमा नभएको हुँदा विधान अनुसार नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए। 

तर उनले आफूले नेतृत्व हस्तान्तरण गर्दा प्रधानमन्त्री पद पाइसक्नुपर्ने सर्त अगाडि सारेका छन्। देउवाले ओलीसँगको सहमति बताउँदै अगाडि भनेका थिए–सात बुँदे सहमतिमा ओलीपछि मैले नेतृत्व गर्ने उल्लेख छ। 

महाधिवेशनपछि म सभापति हुन्न र प्रधानमन्त्री हुने सम्भावना पनि खस्किन्छ। पार्टी सभापति नभए प्रधानमन्त्रीको सम्भावना घट्ने कुरा सत्य भएकाले त्यसमा असहमति जनाउनु पर्ने कारण पनि नरहेको सहभागी एक नेताको भनाइ छ। 

देउवाले महाधिवेशनका विषयमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाको भनाइ सबैभन्दा उपयुक्त भएको भनाइ राखेका थिए। चितवनमा गत पस १६ गते कोइरालाले आमनिर्वाचनको दुई वर्ष अगावै महाधिवेशन गर्नुपर्ने र त्यसो हुन नसके आमनिर्वाचनपछि गर्दा उपयुक्त हुने बताएका थिए। 

देउवाले त्यही तर्कका फेरो समातेर ०८४ को आवधिक निर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गर्ने सोच बनाएका छन्। अर्थात् देउवाले धोको फेरुन्जेल प्रधानमन्त्री हुने र धोको फेरुन्जेल पार्टीको सभापति हुने योजना बनाएका छन्। सभापतिले नै यस्तो निर्णय गरिसकेपछि अब गगन थापाहरु उफ्रेर के ही नहेन पक्का भएको छ। एक देउवा निकटका नेता भन्छन्, ‘गगनहरु कराइरहन्छन् हाम्रा सभापतिज्यूको इन्जिन आफ्नै पाराले चलिरहन्छ।’