सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्दै

सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्दै

काठमाडौँ ।  सरकारले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्ने भएको छ । अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीले जथाभावी क्रियाकलाप र अभिव्यक्ति दिन थालेपछि सरकारले उनीहरुमाथि कडाइ गर्न लागेको हो ।

यही फागुन ५ गते मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीमाथि कडाइ गर्ने निर्णय गरेको हो ।  सचिव बैठकले अवकाशप्राप्त राष्ट्रसेवक र निजामती कर्मचारीलाई आचारसंहिता बनाइ बाँध्ने निर्णय गरेको छ । 

यसको लागि एउटा समिति गठन गर्ने र उक्त समितिले दुई महिनाभित्र आचारसंहिताको मस्यौदा तयार पार्नेछ । सचिव बैठकले नै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । 

उक्त समितिमा गृह सचिव गोकर्णमणि दुवाडी तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव सदस्य रहेका छन् । “संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको संयोजकत्वमा गृह सचिव तथा प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सचिव सदस्य रहने समितिले दुई महिनाभित्र सेवा निवृत्त राष्ट्रसेवक÷निजामती कर्मचारीहरुको ज्ञान सीप र अनुभवलाई राष्ट्रसेवामा समुचित उपयोग गर्न तथा निजहरुले पालना गर्नुपर्ने आचरणलाई संहितावद्ध गर्नका लागि कस्यौदा तयार गरी सचिव बैठकमा पेश गर्ने,” फागुन ५ गतेको सचिव बैठकको निर्णयमा भनिएको छ ।

पछिल्लो समय अवकाशप्राप्त सरकारी कर्मचारीले सामाजिक सञ्जालमा जथाभावी लेख्न र विभिन्न क्रियाकलापमा संलग्न हुन थालेपछि सरकारले उनीहरुलाई बाँध्नको लागि आचारसंहिता तयार पार्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतको दाबी छ ।