मधेश प्रदेशमा मापदण्ड विपरित सञ्चालित १७ अस्पताल बन्द

मधेश प्रदेशमा मापदण्ड विपरित सञ्चालित १७ अस्पताल बन्द

जनकपुर। मधेसका विभिन्न स्थानमा दर्ता बिना सञ्चालनमा रहेका निजी अस्पताल प्रदेश सरकारले बन्द गराएको छ।

जनकपुर, वीरगन्ज, बर्दिबास र लालगढमा दर्ताबिनै सञ्चालनमा रहेका त्यस्ता अस्पताललाई बन्द गरेर कानुनी प्रक्रियामा आउन समेत निर्देशन दिइएको प्रदेश सरकारले जनाएको छ। 

मधेश प्रदेशका स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरका अनुसार सरकारी मापदण्ड पुरा नगरेका जनकपुरका १५ वटा निजी अस्पतालमा तालाबन्दी गरिएको छ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह आफै जनकपुरका ४० निजी अस्पतालको छड्के अनुगमनमा रहेका थिए।

सो क्रममा १५ वटा अस्पताल मापदण्ड विपरित चलिरहेको पाइएको छ। जनस्वाथ्य अधिकृत ठाकुरका अनुसार दर्ता नभएका अस्पताललाई बन्द गरिएको छ भने नविकरण बिना सञ्चालनमा रहेका अस्पताललाई प्रक्रियामा आउन भनिएको छ। 

मापदण्ड विपरीत कुनैपनि स्वाथ्य उपचार केन्द्र सञ्चालन गर्न नदिने प्रदेश सरकारले जनाएको छ। यसैबीच, मुख्यमन्त्री सिंहले हिजो मात्रै वीरगन्जका ७ वटा नीजि अस्पतालको छड्के निरीक्षण गरेका छन्।

 जसमध्ये दर्ता बिना नै सञ्चालनमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टरलाई बन्द गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए। यस्तै, प्रदेश सरकारले महोत्तरीको बर्दिवास र धनुषाको लालगढका रहेका नीजि अस्पतालको पनि छड्के अनुगमन गरेको छ। लालगढमा रहेका दुई नीजि अस्पतालमध्ये लालगढ हेल्थ केयरको दर्ता नरहेको तथा बर्दिवासस्थित सिटी केयर अस्पतालले नविकरण नगराएको फेला परेको ठाकुरले जानकारी दिए।