रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । घटनाको विरोधमा सबै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीहरुको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरुले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१र११र५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागिता जनाउनुभएको हो । निज वडाअध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरुलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । ‘कार्यालय समयमै कर्मचारीहरुमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरु यस निदनीय कार्यको घोर भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।
कर्मचारीहरुले घटनाको दोषीउपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरु सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, विज्ञप्तीमा उल्लेख छ ।
तर वडाध्यक्ष हुसेनले शिक्षा समितिका विषयमा कुरा उठेपछि सामान्य धकेलाधकेल भएको दावी गरे । ‘सामान्य घटना हो, मेयरको दवावमा बढी चर्चा गराइएको हो । केही बढी बोलियो होला तर पहिले उहाँले बोतल उठाएपछि मैले थकेलेको हो । सबै सिसिटिभीमा हेर्न सकिन्छ नि’ उनले भने ।
हुसेनले थपे, ‘शिक्षा समितिको म्याद सकिए पनि गठनको लागि बोलाउनुभएन । आफैं गठन गर्नुभएको रहेछ । छ महिनादेखि कार्यपालिका बैठक बसेन । आज बसेको थियो । बैठकमा पालिका अध्यक्षले शिक्षा समितिमा कुरा उठाउनुभयो । तर मैले शिक्षा समितिमा भएको अनियमितताबारे कुरा उठाएको हुँ । बिद्यालय निरिक्षकले ममाथि आरोप लगाउनु भएर विवाद बढेको हो,’ उनले भने ।
उनले घिमिरेले मधु घिमिरे पालिकामा आएपछि शिक्षा क्षेत्रमा अनियमितता बढेको र आफूहरुले यस विषयमा प्रष्ट नहुँदासम्म आफूहरुले पनि शिक्षा समितिमा तालाबन्दी गरिएको बताए ।