प्रधानाध्यापक  र शिक्षकबीच विद्यालयमै कुटाकुट

प्रधानाध्यापक  र शिक्षकबीच विद्यालयमै कुटाकुट

जनकपुरधाम । धनुषाको कमला नगरपालिका २ माची झिटकैया माध्यमिक विद्यालयमै प्रधानाध्यापक र शिक्षकबीच कुटाकुट भएको छ ।

प्रधानाध्यापक जगरनाथ यादव र शिक्षक रोहित यादवबीच कुटाकुट भएको हो । रोहित राहत शिक्षक हुन् । उनले प्रधानाध्यापकसँग पेश्की रकम मागेका थिए । सो विषयमा विवाद चर्केपछि उनीहरुबीच कुटाकुट भएको छ ।

शिक्षक रोहितले पेश्की रकम मागे जति दिनुपर्ने भनेपछि प्रधानाध्यापकले उनलाई बाहिर निकाल्न खोज्दा कुटाकुट भएको एक विद्यार्थीले सुनाए । उनका अनुसार विद्यालयमा होहल्ला भएपछि पठनपाठन समेत प्रभावित भएको छ ।

नगर प्रमुख विशेश्वर यादवले पेश्की रकमका लागि विद्यालयमा विवाद भएको जानकारी पाएको बताए । उनले भने, ‘एक शिक्षकको बुवाको निधन भएको छ । उनले पेश्की मागेका थिए । सो विषयमै विवाद भएको छ । अहिले वडाध्यक्षलाई बुझ्न पठाएको छु ।’

वडाध्यक्ष ठक्कु यादवका अनुसार बुवाको निधन भएकाले शिक्षक रोहितले ५० हजार पेश्की मागेका थिए । तर प्रधानाध्यापक अहिले तत्काल २५ हजार मात्र दिन सक्छु भनेपछि दुवै जनाबीच विवाद भयो ।

आफू विद्यालय पुगेर दुवै जनालाई सम्झाइबुझाई अहिले भर्खर आएको बताए । शिक्षक यादवले २५ हजार पेश्की लिन नचाहेको र समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमै लागेको बताए ।