विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु

विवाहमा विवाद : कुटपिटबाट युवकको मृत्यु

काठमाडौँ । बाँकेमा एक युवकको हत्या आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ का ३५ वर्षीय रामबहादुर राना र बैजनाथ–६ का १७ वर्षीय एक किशोर छन् ।

बैजनाथ–८ का २५ वर्षीय दिनेश रोकायाको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । गएको शुक्रबार (माघ २५) राति बैजनाथ–८, बिचलाईनस्थित विवाह कार्यक्रममा विवाद हुँदा उनीहरूले दिनेशसहित ६ जनामाथि कुटपिट गरेका थिए । कुटपिटबाट दिनेश गम्भीर घाइते भएका थिए ।

कोहलपुरस्थित मेडिकल कलेजमा प्राथमिक उपचारपछि उनलाई भारतको लखनऊ पठाइएको थियो । त्यहाँ उपचारका क्रममा आइतबार (माघ २७) बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते अरू पाँचजनाको उपचार जारी छ । कोहलपुरकै मेडिकल कलेजमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।