सरकारले ३१ वटा कानुन अध्यादेशमार्फत् संशोधन गर्नु संसद्को अपमान होः माओवादी नेता पौडेल

सरकारले ३१ वटा कानुन अध्यादेशमार्फत् संशोधन गर्नु संसद्को अपमान होः माओवादी नेता पौडेल

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले सरकारले ३१/३१ वटा कानुन अध्यादेशमार्फत संशोधन गरेर संसद्को अपमान गरेको टिप्पणी गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अध्यादेश ल्याउन संविधानले नरोकेको भएपनि वर्तमान सरकारले संसद्कै अपमान हुनेगरी काम गरेको बताए । उनले सरकारले विशिष्ट अवस्था र अधिवेशन बस्न नसक्ने अवस्था पैदा भएको खण्डमा कानुनको आवश्यकता पर्दा अध्यादेश ल्याउन सक्ने बताए । तर, अहिले त्यस्तो कुनै विशिष्ट अवस्था पैदा नभएको उनको दाबी छ ।


‘एउटा दुईवटा होईन, ३१ वटा कानुन । एक हप्तापछि सदन बोलाइयो । एक हप्ता पहिला अध्यादेश ल्याइयो । त्यसो हो भने संसद् किन चाहियो ? हामीले जनताको भावना कानुन बनाउने बेलामा छलफल चलाएर अगाडि बढ्नका निम्ति सार्वभौम रुपमा हामीले संसद्लाई प्रयोग गर्ने गरेका छौं । ३१/३१ वटा कानुन अध्यादेशमार्फत आउनु भनेको संसद्प्रतिको अपमान हो,’– उनले भने ।

अध्यादेश लोकतान्त्रिक मूल्य मान्यतालाई अगाडि बढाउने हिसाबले नआएको र यसको प्रक्रिया नै गलत रहेको उनको दाबी छ । नेता पौडेलले एक हप्तामा फास्ट ट्रयाकमा सदनमै कानुन बनेको नजीर रहेको सुनाए । संसद्ले कानुन बनाउन लामो समय लाग्छ भन्ने कुरा गलत रहेको उनले बताए । संविधान संशोधन गर्ने विषय घान हालेको सरकारले संसद्प्रति अविश्वास गरेर अध्यादेशमार्फत शासन गरेको नेता पौडेलले बताए ।

अध्यादेशमा उल्लेख भएका विषयवस्तुको विषयका बारेमा जेसुकै भएपनि प्रक्रिया नै गलत रहेको उनले बताए । मन्त्रालयले कार्यविधि बनाएर जग्गा बाँड्न सक्नेगरी अध्यादेश ल्याईनु आपत्तिजनक रहेको उनले बताए । जग्गाको हदबन्धी फुकाउने व्यवस्था गरिएको विषयमा आफूहरुको ठूलो आशंका रहेको उनले बताए । सुकुम्बासी र भूमिहीनलाई जग्गा प्रदान गर्ने विषयमा आफूहरुको आपत्ति नरहेको उनले बताए । तर, भूमिहीन र सुकुम्बासीलाई जग्गा दिने नभएर अध्यादेशको नियत अर्कै रहेको उनको आरोप छ ।

अध्यादेशमार्फत ठूला–ठूला कुरा गरेर लगानी भित्रिन्छ भन्नेमा विश्वास गर्न नसकिने उनले बताए । दुई तिहाइको सरकारले ढोकाबाट आउने जाने गर्न छाडेर झ्यालको प्रयोग गरेको उनको टिप्पणी छ ।

नेता पौडेलले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक सरकारले फिर्ता लिएर पुनर्लेखन गर्नुपर्ने पनि बताए । उक्त विधेयकमा नियमन गर्नेतिर भन्दापनि तर्साउनका लागि दण्डको व्यवस्था गरिएको उनले बताए । ‘सूचनाको हक संविधानले दिएको मौलिक अधिकार हो । सूचनाको हक प्राप्त गर्ने कुरा त्रास, डर, धम्कीमा प्राप्त गर्ने होईन । अभिव्यक्ति स्वतन्त्रता, आलोचनाको स्वतन्त्रता नागरिकले ७० वर्षसम्म लडेर प्राप्त गरेको अधिकार हो ।

आफूहरुले सरकार ढाल्ने कुनैपनि वार्ता र लविङ नगरेको उनले बताए । वर्तमान सरकार आफैं ढलेको खण्डमा बाहेक माओवादी सरकारमा जान नतम्सिने उनले बताए । ‘सरकार ढाल्ने चक्करमा हामी छैनौं । च्याप्टर क्लोज भनिसकेका छौं हामीले । उहाँहरुलाई शुभकामना छ– मिलेर मिसन ०८४सम्म सँगै जानुहोला । त्यसपछि पनि मिल्नुभयो भने हामीलाई केही आपत्ति छैन । सरकारको गलत क्रियाकलापको हामी भण्डाफोर गर्छौं ।