किन धेरै युवामा क्यान्सर देखिइरहेको छ?

किन धेरै युवामा क्यान्सर देखिइरहेको छ?

काठमाडाैं। आफूलाई स्तन क्यान्सर भएको थाहा पाएपछि ब्रजिलकी लुइसा टोस्कानो छक्क परिन्। "यो पूर्ण रूपमा अनपेक्षित थियो," दुई सन्तानकी ३८ वर्षे आमाले भनिन्।

"म युवा, स्वस्थ, तन्दरुस्त र कुनै जोखिम नभएकी मानिस थिए - त्यो मलाई हुनुपर्ने थिएन। मैले विश्वासै गर्न सकिनँ। मेरो वास्तविकताबाट क्यान्सर धेरै परको कुरा थियो।"

लुइसामा तेस्रो चरणको क्यान्सर भएको सन् २०२४ को मार्च महिनामा पत्ता लाग्यो र तेस्रो चरण भन्नुको अर्थ त्यो विकसित भइसकेको थियो।

उनलाई त्यसपछि साँढे चार महिनाभन्दा बढी समयका लागि कीमोथेरपी दिइयो। सँगै शल्यक्रिया गरियो र स्तन हटाइयो अनि रेडिओथेरपी गरियो। उनको उपचार अगस्टमा सकियो तर अझै पनि उनले क्यान्सर नदोहोरियोस् भनेर सावधानी अपनाउनुपर्छ र औषधि पनि निरन्तर लिनुपर्छ।

"कीमोथेरपी एकदमै कडा थियो तर मेरो शरीरले राम्ररी त्यसलाई झेल्यो," उनले सम्झिइन्, "त्यसको जस म आफू सक्रिय र युवा हुनु अनि शरीर सहनशील हुनुलाई दिन्छु।"

त्यसपछि शल्यक्रिया भयो।

"धन्न, मैले आफ्नो पूरै स्तन हटाउनुपरेन। असाध्यै कठिन भनेको कपाल गुमाउनु थियो। असाध्यै छिटो र तीव्र रूपमा कपाल झर्‍यो। जब म ऐनामा आफ्नो अनुहार हेर्थेँ, म आफैँ डराउँथे र त्यसले मेरो बच्चाहरूलाई पनि असर गर्‍यो।"

लुइसाको कथा एक्लो कथा होइन। यसले विश्वव्यापी रूपमा बढ्दै गएको प्रवृत्ति झल्काउँछ : थप युवाहरूमा क्यान्सर देखिन थालेको छ र त्यो पनि उनीहरूका आमाबुवा वा परिवारमा कसैलाई नदेखिएका अवस्थाका युवाहरूमा बढी देखिन थालेको छ।

वृद्ध वा पाका मानिसहरूमा जैविक, वातावरणीय र जीवनशैलीका कारण बढीजसो क्यान्सर हुने गरेको छ।

त्यसैले क्यान्सर विशेषज्ञहरूले कम उमेरका वयस्क महिलामा प्रारम्भिक चरणकै स्तन क्यान्सर देखिएमा त्यसलाई 'बीआरसीए१' र 'बीआरसीए२' जस्ता वंशाणुगत कारणहरूसँग जोडेर हेर्थे।

यद्यपि लुइसाजस्ता थप बिरामीहरूमा भने त्यस्ता कुनै वंशाणुगत सङ्केतहरूको पूर्वस्थितिको स्पष्ट सङ्केतहरू देखिएका छैनन्।

'बीएमजे अङ्कलजी'मा हालै प्रकाशित एउटा अध्ययनबाट सन् १९९० र २०१९ को बीचमा विश्वभरि ५० वर्षमुनिका वयस्कहरूमा क्यान्सरको प्रारम्भिक अवस्थामा ७९ प्रतिशतले वृद्धि भएको देखिएको छ। त्यही उमेर समूहमा क्यान्सरसँग सम्बन्धित मृत्युहरूमा २८ प्रतिशतले वृद्धि भएको छ। उक्त अध्ययनले विश्वभरिका २०४ देशमा २९ प्रकारका क्यान्सरहरूको विश्लेषण गरेको थियो।

त्यस्तै 'द ल्यान्सेट पब्लिक हेल्थ'ले १७ किसिमका क्यान्सरको दरबारेको प्रतिवेदनमा अमेरिकामा 'जेन एक्स'देखि 'मिलेनियल्स' (सन् १९६५देखि १९९६ सम्म जन्मिएकाहरू) लगायत विभिन्न पुस्तामा स्थिर रूपमा क्यान्सर वृद्धि भएको खुलासा गरेको छ।

अमेरिकाको क्यान्सर सोसाइटी (एसीएस) को नयाँ प्रतिवेदनले सन् २०१२ र सन् २०२१ को बीचमा ५० वर्षभन्दा कम उमेरका श्वेत महिलाहरूमाझ स्तन क्यान्सरको दर १.४ प्रतिशतले वार्षिक रूपमा बढेको र ५० वर्षमाथिका महिलाहरूमा त्यही दर ०.७ प्रतिशत रहेको देखाएको छ।

बीएमजी अङ्कलजी प्रतिवेदनका अनुसार नाकको पछाडि, पेट र ठूलो आन्द्रा तथा मलाशयको क्यान्सरको दर पनि युवाहरूमाझ वृद्धि भएको छ।

अनुसन्धानकर्ताहरू कारणहरू पत्ता लगाउन खोजिरहेका छन्। 'द ल्यान्सेट'ले निरन्तरको वृद्धिले क्यान्सरबाट जोगिन गरिएको दशकौँको प्रगति उल्टिन सक्नेप्रति सचेत गराएको छ।

'बीएमजी अङ्कलजी' र 'ल्यान्सेट'का प्रतिवेदनहरूका अनुसार खानपिन पनि सम्भावित कारण हुन सक्ने शङ्का गरिएको छ। आफ्नो आहारमा रातो मासु र नुन धेरै तथा फलफूल र दूध कम हुँदा अनि रक्सी र चुरोटको प्रयोगले पनि त्यस्तो भएको हुन सक्ने शङ्का गरिएको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार मोटोपनाका कारण सुजन हुने र होर्मोन अनियमित हुनु पनि क्यान्सरको बढ्दो जोखिमसँग सम्बन्धित रहेको छ।

'द ल्यान्सेट' प्रतिवेदनले अमेरिकामा क्यान्सर भएका १७ युवा मध्ये १० जनामा मिर्गौला, 'ओभरिअन', कलेजो, अग्न्याशय र पित्तथैलीको क्यान्सरजस्ता क्यान्सरहरू मोटोपनासँग सम्बन्धित भएको उल्लेख गरेको छ।

यद्यपि यी कारणहरूले सबै क्यान्सरका घटनाहरू व्याख्या गर्न सक्दैनन्।

वैज्ञानिकहरू अन्य सम्भावित कारणहरूको खोजी गरिरहेका छन्। केहीले भने उपकरण वा सडक बत्तीहरूबाट आउने कृत्रिम प्रकाशमा निरन्तर रहँदा त्यसले शरीरको जैविक समयतालिकामा बाधा पुग्ने र त्यसले स्तन, कोलन र प्रोस्टेटको क्यान्सरको जोखिम बढाउने तर्क गरेका छन्।

अन्य अध्ययनहरूले कामको समय खास गरी राति लामो समयसम्म प्रकाशमा बस्दा यसले मेलाटोनिनको मात्रा कम गर्ने र क्यान्सरको वृद्धिलाई बढावा दिने सुझाएका छन्।

सन् २०२३ को जुन महिनामा शल्यचिकित्सक फ्र्याङ्क फ्रिजेलले न्यूजील्यान्डमा पेटमा हुने क्यान्सरमा माइक्रोप्लास्टिकको भूमिकाको अध्ययन गर्न आह्वान गरेका थिए। उनले माइक्रोप्लास्टिकले कोलनमा संरक्षित हुने म्युकसको तहलाई क्षति पुर्‍याइदिने बताएका थिए।

अन्य अनुसन्धानकर्ताहरूले इमल्सिफाइअर र रङ्गहरूको प्रयोग गरेर बनाइने अतिप्रशोधित खानेकुराहरूका कारण पेटमा सुजन हुने र त्यसले डीएनएमा क्षति पुर्‍याउन सक्ने तर्क गरेका छन्।

यो कारक तत्त्व स्तन ररक्त क्यान्सरमा समेत जोडिएको अमेरिकन असोसिएशन अफ क्यान्सर रिसर्चले जनाएको छ।

एन्टिबायोटिकको प्रयोग सन् २००० यता विश्वव्यापी रूपमा अनुमानित ४५ प्रतिशतले वृद्धि भएको छ र यसले पनि पेटको माइक्रोबायोममा बाधा पुर्‍याउने भएका कारण भर्खरका बालबालिकामा समेत क्यान्सर देखिएको हुन सक्ने केही अनुसन्धानकर्ताहरूले बताएका छन्।

इटलीका वैज्ञानिकहरूको समूहले सन् २०१९ को प्रतिवेदनमा यो फोक्सोको क्यान्सर, लिम्फोमास, अग्न्याशयको क्यान्सर, रीनल सेल कार्सिनोमा र माइलोमासँग सम्बन्धित भएको उल्लेख गरेका थिए।

नयाँ पुस्तामा उचाइ बढ्दै जाने कुराले पनि क्यान्सरको दरमा भूमिका खेलेको हुन सक्ने यूनिभर्सिटी अफ एडिन्बरा स्कटल्यान्डका कोलोप्रोक्टोलजीका प्राध्यापक माल्कम डन्लपले उल्लेख गरेका छन्। 'बीएमजी अङ्कलजी' प्रतिवेदनका उनी सहलेखक पनि हुन्।

"सामान्यतया विश्वभरि नै मानिसहरू अग्ला भइरहेका छन्... उचाइ र कोलन क्यान्सरजस्ता कैयौँ क्यान्सरहरूबीच पनि बलियो अन्तर्सम्बन्ध रहेको छ," उनले भने।

विश्वका अग्रणी क्यान्सर जेनेटिक्स विज्ञ डाक्टर डन्लप क्यान्सरका प्रारम्भिक अवस्था कुनै एउटा नभई विभिन्न कारणहरूबाट हुने र त्यो कुन हो भनेर पहिचान गर्न कठिन रहेको बताउँछन्।

उनले युवाहरूमा क्यान्सरको वृद्धि तुलनात्मक रूपमा बढी देखिए पनि उक्त समूहमा क्यान्सरको पूर्ण जोखिम कम हुने भएकाले परीक्षण गर्नु लागतका हिसाबले प्रभावकारी पनि नभएको बताए।

अमेरिकाको न्याश्नल क्यान्सर इन्स्टिट्यूट (एनसीआई) का अनुसार ८० प्रतिशत क्यान्सरहरू ५५ वर्ष वा त्योभन्दा बढी उमेरका मानिसहरूमा पत्ता लागेको बताएका छन्।

यद्यपि यो अवस्थाले यूनियन अफ इन्टर्न्याश्नल क्यान्सर कन्ट्रोल (यूआइसीसी) जस्ता मुख्य सङ्गठनहरूलाई अभ्यासकर्ताहरूमाझ प्रारम्भिक अवस्थाको क्यान्सरको लक्षणका बारेमा सचेतना अभिवृद्धि गर्न हौसाएको छ।

"यदि कुनै ६० वर्षभन्दा बढीको मानिसमा दिसा हुन समस्या छ, थकान छ, पेट फुल्छ भने चिकित्सकहरूले यी लक्षणहरूलाई गम्भीर रूपमा लिएर परीक्षणका लागि सिफारिस गर्छन्। यद्यपि, ३० देखि ४० वर्ष पुगेका सक्रिय मानिसहरूमा यिनै लक्षणहरू छन् भने त्यसलाई सामान्य दुखाइ सम्झेर बेवास्ता गर्न सक्छन्," डाक्टर अलेक्सान्डरले भने। पछिल्लो अवस्थाले भने बाँच्ने सम्भावनालाई जोखिममा पार्न सक्ने उनी बताउँछन्।

"यो उमेर समूहका मानिसहरू जीवनको महत्त्वपूर्ण समयमा हुन्छन्, आफ्नो परिवार सुरु गरेका हुन्छन् र बाँच्नका लागि सबै गरिरहेका हुन्छन्। क्यान्सरको पहिचानले उनीहरू र परिवारलाई चकित पार्छ," उनले भने।

तर युवाअवस्थाका बिरामीहरूले समयमै पहिचान भए कठोर खालका उपचार विधि थेग्न सक्ने र सुधार हुने उनले बताए।

डा. डन्लपले प्रारम्भिक क्यान्सरको दीर्घकालीन प्रभावहरूको बारेमा चासो व्यक्त गरेका छन्।

"यी क्यान्सरहरूबाट प्रभावित युवाहरूमा उमेर वृद्ध हुँदासम्म जोखिम रहिरहन्छ," उनले सचेत गराए।

"के यसले चिन्ताजनक भविष्य जनाएको हो वा केवल उमेर विशेषलाई मात्रै यसको प्रभावमा पारिरहेका हुन्?"

क्यान्सरको उपचार गरेकी लुइसा भन्छिन्, "मैले सिकेको ठूलो पाठ भनेको रमाइला र कठिन दुवैखाले दिनहरूलाई अपनाउनु हो। जब नराम्रो भावना आउँथ्यो, मैले त्यसलाई पनि आउन दिएँ। जब म आफूलाई बलियो महसुस गर्थेँ, मैले ती क्षणहरू पनि खुसीले अपनाएँ। मलाई थाहा थियो दुवै खाले भावना पनि बितेर जाने छन्।"

अरूलाई उनी सल्लाह दिन्छिन्, "एक पटकमा एक दिन हो भनेर सम्झिनुपर्छ। आफ्नो शरीरलाई नियाल्नुहोस् - कुनै दिन तपाईँले गर्न सक्ने भनेको शरीरलाई आराम दिनु हो र त्यसमा केही खराबी छैन। क्यान्सरलाई नराम्रो र छायाँको रूपमा लिइन्छ तर यसले तपाईँ को हो भनेर व्याख्या गर्दैन। कठोर समयमा पनि जीवन छ र यसको अर्थ छ।"