मधेशकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा

मधेशकेन्द्रित ८ दलको बैठक सिंहदरबारमा

काठमाडौँ । मधेसकेन्द्रित दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध समितिको हलमा आठ पार्टीको बैठक बसिरहेको हो ।

मधेसीकेन्द्रित दलको मोर्चा बनाउने विषयमा छलफल गर्न जनता समाजवादी नेपालको अगुवाइ बैठक बसेको हो । बैठकमा जनता समाजवादी, जनमत पार्टी, जसपा नेपाल, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील र तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सम्मिलित छन् ।

आठ दलबीच मुद्दाकेन्द्रित सहकार्यका लागि छलफल गर्न सबै दलले वार्ता समिति बनाएका छन् । वार्ता समितिका नेताहरूबीच नै अहिले छलफल चलिरहेको हो ।

बैठकमा जसपाबाट रेणु यादव, जनमतबाट शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव, राम कुमार शर्मा र मनिष सुमन रहेका छन् भने नागरिक उन्मुक्तिबाट लालबिर चौधरी र गंगा चौधरी, लोसपाबाट सर्वेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्ण सहभागी छन्।

यस्तै राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय, केशव झा र सन्तोष मेहता, जनता प्रगतिशीलबाट हृदयेश त्रिपाठी, शिवजि यादव र सब्बीर हुसैन तथा तमलोपाबाट वृषेश चन्द्र लाल र विजय सिंह मोर्चाको बैठकमा सहभागी छन् ।

यसअघि जनता प्रगातिशीलले बैठकको आयोजना गरेको थियो । आआफ्नो दलमा छलफल गरी पुनः बैठक बसेर मोर्चा निर्माणको विषयलाई ठोस रूपमा दिने सो बैठकले निर्णय गरेको थियो ।