काठमाडौँ । नेपाल पारा भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसन (नेभ्ला) का पूर्वअध्यक्ष लोकराज भुसालले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
परिषद् आगामी माघ १८ गते निर्वाचनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसाल हाल परिषद्को तदर्थ समितिमा सदस्य छन्। नेपालको श्रमिक र पेशागत आन्दोलनमा लामो समयदेखि सक्रिय भुसालले पेशाकर्मीको हक, हित, सामाजिक सुरक्षा, क्षमता विकास र मर्यादित वातावरण सुनिश्चित गर्न भूमिका खेल्दै आएका छन्। उनी नेपाल पारा–भेटेरिनरी एण्ड लाइभस्टक एसोसिएसनको संस्थापक सदस्य हुन् र २०४७ सालदेखि निरन्तर नेतृत्वदायी भूमिकामा छन्।
पेशाकर्मीको ३५ वर्षको प्रयासबाट २०७९ सालमा संसदबाट पशु स्वास्थ्य तथा पशु सेवा व्यवसाय परिषद् ऐन लागू भएको छ। ऐनको आधारमा परिषद् गठन भएको हो। परिषद्को पहिलो ऐतिहासिक निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवारको रूपमा भुसालले पेशागत मर्यादा, दक्षता र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पशुपन्छी तथा मत्स्य क्षेत्रको दिगो विकास र आर्थिक समृद्धिका लागि प्राविधिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय र जवाफदेही सेवा प्रवाह गर्ने योजना अघि सारेका छन्।
भुसालले सरोकारवालाहरूबीच सहकार्य र समन्वयद्वारा मैत्रीपूर्ण वातावरण निर्माण गर्न, परिषद्को अन्तर्राष्ट्रिय मान्यता सुनिश्चित गर्न र परिषदमा आबद्ध प्राविधिक पेसाकर्मीहरूको हित र क्षमता विकासका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।