आक्रोशित समूहद्वारा एमाले पार्टी कार्यालयमा तालबन्दी, नेताहरू भित्रै थुनिए

आक्रोशित समूहद्वारा एमाले पार्टी कार्यालयमा तालबन्दी, नेताहरू भित्रै थुनिए

ओखलढुंगा । ओखलढुंगाको रुम्जाटारमा रहेको यातायात कार्यालय कोसी प्रदेश सरकारले हर्कपुरमा सार्न लागेको भन्दै स्थानीय र रुम्जाटारका एमाले कार्यकर्ताहरूले एमाले पार्टी कार्यालयमा तालबन्दी गरेका छन् । नारा जुलुससहित आएका युवा,स्थानीय र एमालेका कार्यकर्ताहरूले तालाबन्दी गरेका हुन् । 

जिल्ला कमिटी बैठकको तयारीका लागि परामर्श बैठक बसिरहेका बेला आक्रोशित समूहले ताला लगाएको हो । ताला लगाएपछि नेताहरू कार्यालय भित्रै थुनिएका छन् । कोसी प्रदेश सरकार एमाले नेतृत्वकै रहेकाले रुम्जाटारबाट कार्यालय सार्न खोजिएको भन्दै उनीहरूले एमाले कार्यालयमा ताला लगाइदिएका हुन्।

चार वर्ष पहिले कार्यालय स्थापना भइ सेवा दिइरहेको र जग्गा प्राप्तिका लागि स्थानीयले जग्गा दिए पनि प्रदेश सरकारले पास गर्न सहमति नदिइरहेको अवस्थामा मानेभञ्ज्याङको हर्कपुर स्थापनाको तयारी भइ पत्राचार भएको थियो । स्थानीय र एमाले नेता अम्बीर गुरुङलगायतको दबाबपछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले हर्कपुर पटके कर संकलन केन्द्र राख्न अर्को पत्र पठाएको छ । 

स्थानीय भने सार्ने षड्यन्त्र भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । कार्यालय रुम्जाटारमै राख्ने र जग्गा प्राप्तिका लागि अनुमति नदिएसम्म आन्दोलन जारी रहने विवेक तामाङले बताए । यस कार्यालयबाट सवारी नवीकरण चालक अनुमतिपत्र वितरण कर संकलनलगायतका काम ओखलढुंगा,खोटाङ र सोलुखुम्बु जिल्ला कार्य क्षेत्र रहने गरि सेवा प्रदान हुँदै आएको छ ।