तयार भयो माघ महिनाको संसद् क्यालेण्डर

तयार भयो माघ महिनाको संसद् क्यालेण्डर

काठमाडाैँ । संसद्को माघ १८ गतेदेखि सुरु हुन लागेको हिउँदे अधिवेशनको समय तालिका (क्यालेन्डर) तयार भएको छ। 

सोमबार सभामुख देवराज घिमिरेले प्रमुख ५ राष्ट्रिय दलका सचेतकहरुसँग सिंहदरबारमा राखेको छलफलमा माघ महिनाभरीको क्यालेन्डर बनाउन दलहरू तयार भएका हुन्। त्यस्तै संसद्को पहिलो दिनको बैठकमा सबै दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

उनका अनुसार सरकारले ल्याएका सबै अध्यादेशहरू १८ गतेको बैठकमै पेस हुनेछन्। अध्यादेश परिपक्व हुन केही दिन लाग्ने भएकाले २२ गते सबै ती अध्यादेशहरु निर्णयार्थ पेस हुनेछ।
त्यस्तै २३ र २४ गते संसद् बैठक बस्नेछ। २५, २६ र २७ गते भने संसदीय समितिको बैठक बस्नेछन्। २८, २९, ३० गते संसद् बैठक बस्नेछ। यो बीचमा शून्य समय र विशेष समय पनि चलाउने बर्तौैलाले जानकारी दिए। 

त्यस्तै पहिलो दिनको बैठकमा सबै राजनीतिक दलका शीर्ष नेताहरुले पनि सम्बोधन गर्ने उनको भनाइ छ। उनले भने, ‘पहिलो दिनमा सबै राजनीतिक पार्टीका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुन्छ।'