काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् ।
आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा युवा पुस्ताहरूबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए ।
उनले आफूलाई आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गरे । अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण कांग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको बताए ।
"म अहिलेको प्रधानमन्त्री वा हुनेवाला प्रधानमन्त्री वा अस्ति भर्खर हुनुभएको प्रधानमन्त्री भन्दा हामी राम्रो प्रधानमन्त्री चलाउन सक्छौँ भन्नेकुरा म अहिले पनि विश्वास गर्दछु । आजको प्रधानमन्त्रीको ठाउँमा आजै बेलुका गएर हामीमध्ये कसैलाई प्रधानमन्त्री बनाउने हो भने अहिले चलाएको भन्दा राम्रो चलाउँछौँ । यति कुरा दाबाका साथ भन्नसक्छु । त्यही चलाउँछौँ भन्ने विश्वासका साथ बन्ने प्रयास पनि गरेको हो । म जिम्मा लिन्छु भनेर गएको पनि हो । ति प्रयासबाट आएका परिणामहरुलाई पनि स्वीकार्नुपर्छ । यो दशक अब फेरि खेल फाल्नु हुँदैन," उनले भने ।
महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए ।