लागू औषध सेवन गरी यात्रुबस चलाउने १४ जना चालक र सहचालक पक्राउ

लागू औषध सेवन गरी यात्रुबस चलाउने १४ जना चालक र सहचालक पक्राउ

धरान । कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा संचालन हुने यात्रु बस तथा मलबाहाक गाडीका चालक र सहचालकले लागू औषध सेवन गर्ने गरेको पाइएको छ । चालकहरूले लागू औषध सेवन गरी सवारी चलाउँदा यात्रुहरूको ज्यान जोखिममा परेको छ। 

कोशी प्रदेशमा सवारी दुर्घटनाका घटना वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको टोलीले सवारी चेकजाँच गर्दा लागू औषध सेवन गरी सवारी साधन चलाउने १४ जना चालक र सहचालकलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताएका छन् । उनले कोशी राजमार्गका विभिन्न  जिल्लामा  आवत जावत गर्ने यात्रुबाहक बस तथा मालबाहक सवारी साधनका चालकहरूले लागू औषध सेवन गरी सवारी साधनहरू चलाउँछन् भन्ने विशेष सूचनाको आधारमा इटहरी-धरान सडक खण्डबाट उनीहरूलाई पकाउ गरिएको जानकारी दिए ।

यात्रुहरूको ज्यान जोखिममा राखेर चालकले लागू औषध सेवन गर्ने गरेको सूचना पाएको सुनसरी प्रहरीले ट्राफिक प्रहरी, कोशी प्रदेश प्रहरी अस्पताल का चिकित्सकहरूको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी तिमल्सिनाले बताए ।  यात्रु बस र मालबाहक गाडीका चालक र सह चालकको स्वास्थ्य परीक्षण गर्दा  विभिन्न प्रकारको लागू औषध सेवन गरेको प्रहरी अस्पतालका डाक्टर शत्रुधन बहरदारले बताएका छन् ।

लागू औषध सेवन गरि सवारी चलाउनेमा मोरङ बेलबारी नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ को चालक उज्जल श्रेष्ठ, कानेपोखरी गाँउपालिका वडा नं. ४ बस्ने वर्ष ४६ को श्याम चौधरी, उर्लाबारी नगरपालिका वडा नं. ६ बस्ने वर्ष २२ को भुवन न्यौपाने रहेका सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । 

उदयपुर त्रियुगा नगरपालिका वडा नं.३ बस्ने वर्ष २८ को किरण थापा र वडा नं. ५ बस्ने वर्ष २२ को राहुल राई पनि पक्राउ परेका छन् । झापाको गौरदह नगरपालिका वडा नं. ४ बस्ने वर्ष ३९ को हरीबहादुर ठकुरी, कन्काई नगरपालिका वडा नं.१ बस्ने  वर्ष ३५ को रूपलाल ऋषिदेब र मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने वर्ष १९ को सुमन बिकलाई पनि पक्राउ गरिएको एसपी तिम्सिनाले बताए ।

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ बस्ने वर्ष २१ को अमिन राइ, ईटहरी उपमहानगरपालिका वडा नं. १३ बस्ने वर्ष २० को समिर मगर, वडा नं. २० बस्ने वर्ष ४१ को कृष्ण सुबेदी र  वडा नं. १२ बस्ने वर्ष २८ को सुबोध चौधरी,  वडा नं. २ बस्ने वर्ष ४१ को दिपक घले गुरूङ र तेह्रथुमको लालिगुरास नगरपालिका-३ का २५ वर्षीय निश्चल कार्कीलाई पक्राउ गरिएको एसपी तिम्सिनाले बताए । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।