काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो।
सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका छन्। यस्तै नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकास गौतमले पनि बहस गरेका छन्। उच्च सरकारी वकिल कार्यालयका वकिलहरुले भने जवाफी बहस गर्ने भएका छन्।
बिहीबारदेखि जाहेरवालाको तर्फबाट बहस हुनेछ। उनीहरुको बहस सकिएपछि प्रतिवादीको तफैबाट बहस हुनेछ। दुवै पक्षको बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ। यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ। सरकारी पक्षको बहस सकिँदासम्म लामिछानेको रिहा हुने सम्भावना न्युन देखिएको बताइएको छ ।
पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको छ।
अन्य प्रतिवादीहरु भने फरार छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा विभिन्न संस्थासमेत ४४ प्रतिवादी छन्।
जसमध्ये ३१ प्रतिवादी सहकारी ठगीमा छन्। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
प्रतिवादीमध्ये रविसहित १९ जनालाई संगठित अपराध, रविसहित ४ जनालाई सम्पत्ति शुद्धीकरण पनि र २ जनालाई क्रिप्टोको कसुरमा समेत अभियोगपत्र दायर गरिएको छ।
सम्पत्ति जफतका लागि रविकी पत्नी निकितासहित ५ जनालाई प्रतिवादी बनाइएको छ।