काठमाडौं । नेकपा एकीकृत समाजवादी र पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बुधबारको वार्ता सकारात्मक रहेको दुवैतर्फका नेताले बताएका छन् ।
गौतमका अनुसार छलफल सहमति नजिक पुगेको छ । आज भएका छलफल र जुटेका सहमतिका बारेमा आफूले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको बैठक बोलाइने र त्यसबाट अनुमोदन गरेपछि बाँकी काम सम्पन्न गर्ने उनले बताए ।
‘टुंगिएको नभनौं, तर धेरै सकारात्मक कुरा भएको छ’, उनले भने । एकीकृत समाजवादीको तर्फबाट वार्तामा सहभागी पोलिटब्युरो सदस्य बलराम बास्कोटाले आधारभूत विषयहरु टुंगो लागेको र केही प्राविधिक विषयलाई अन्तिम रूप दिन बाँकी छ ।
‘अब जे, जति कुरा बाँकी छन्, ती नमिल्ने र अड्किने खालका छैनन्’, उनले बताए । पार्टीमा नेता गौतमलाई वरिष्ठ नेताको पदसहित तेस्रो वरियता दिने विषयमा सबै नेताबीच मतैक्य रहेको बास्कोटाले बताए । त्यसबाहेक गौतम नेतृत्वको अभियानबाट एकतामा सहभागी हुने नेताको हैसियतअनुसारको पद व्यवस्थापनमा पनि नेताहरुको बीचमा कुरा मिलेको उनले बताए ।
बुधबारको वार्तामा गौतम एक्लै थिए । एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष तथा प्रचार प्रमुख प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल, सचिव सावित्रा भुसाल, गणेश विक, चन्द्रबहादुर शाही, स्थायी कमिटी सदस्य बलराम बास्कोटासहितका नेता सहभागी थिए ।
कुराकानीलाई अन्तिम रुप दिन केही दिनमै फेरि वार्ता गरिने बास्कोटाले बताए ।