भरतपुर । परोपकारी संस्था ‘हेल्प नेपाल नेटवर्क’को अन्तर्राष्ट्रिय अध्यक्षमा डिला खरेल सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा सम्पन्न वार्षिक साधारणसभाले खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
चितवन घर भएका खरेल विगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मथलो बनाएर काम गर्दै आएका छन् । एनआरएनएलगायतका संघसंस्थामा लामोसमय काम गरेको अनुभव उनीसँग छ ।
अष्ट्रेलियामा अत्यधिक लोकप्रिय युवा व्यक्तित्व खरेलका परोपकारी, सामाजिक तथा उद्यमशीलताका अनवरत र सार्थक प्रयास तथा अभ्यासहरुको अष्ट्रेलिया र नेपाल दुवै देशमा उत्तिकै चर्चा हुने गर्दछ ।
अध्यक्ष सर्वसम्मत भएपछि खरेलले प्रवासमा बसेर पनि नेपालमा रचनात्मक सेवा गर्न सकिन्छ भन्ने उदाहरण हेल्प नेपाल नेटवर्कले प्रस्तुत गरेको बताए । यस परोपकारी अभियानमा जोडिन पनि उनले सबैलाई अपिल पनि गरे।
सस्थाले परोपकारी संस्था, हेल्प नेपाल नेटवर्कको २५औँ वार्षिकोत्सव तथा ग्लोबल मिटको अवसरमा परोपकारिताका क्षेत्रमा समर्पित व्यक्ति तथा संस्थालाई अभिनन्दन गरेको छ। २५ वर्ष अघि स्थापना भएको संस्थाको हाल ३० देशमा शाखा छ । हेल्प नेपाल नेटवर्कको संस्थापक अध्यक्षमा रवीन्द्र मिश्र रहेका छन् ।