काठमाडौँ । काठमाडौं महानगरपालिकाले आफ्नो पहिलो मेयर पीएल सिंहको शालिक बनाउने भएको छ ।
महानगरपालिकाको १६ औं अधिवेशनमा प्रमुख बालेन शाहले पीएल सिंहको पूर्ण कदको शालिक राष्ट्रिय सभागृह परिसरमा निर्माण गर्ने घोषणा गरेका हुन् । काठमाडौंलाई नेपालकै पहिलो महानगरपालिका निर्माण गर्नको लागि योगदान गरेको भन्दै सिंहको पूर्णकदको शालिक बनाउने घोषणा गरिएको हो ।
स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व। सिंहको महत्वपूर्ण भूमिका रहेको महानगरले जनाएको छ । वि. सं. १९९६ साल चैत ११ गते जन्मेका सिंह पछिल्लो समय उपचारसँगै चाक्सीबारी निवासमा बसिरहेका थिए ।
गत १ पुसमा उनको निधन भएको थियो । प्रजातन्त्र पुनःस्थापना भएपछि भएको स्थानीय निर्वाचनबाट पहिलो प्रमुखका रुपमा निर्वाचित भएका थिए । यस्तै महानगरपालिकाले अधिवेशनमा जनप्रतिनिधि तथा कर्मचारीहरूलाई सम्मान गरेको छ ।