भक्तपुरमा बाबु-छोरा हत्या प्रकरण

बुवा र भाइको हत्या स्वीकार्दै मिलनले दिए यस्तो बयान, प्रेमीकाको भूमिका के ?

बुवा र भाइको हत्या स्वीकार्दै मिलनले दिए यस्तो बयान, प्रेमीकाको भूमिका के ?

भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत भेटिएको प्रकरणमा बेपत्ता मिलन आचार्यले घटना स्वीकारेका छन् । शनिबार राति बुवा र भाइको ज्यान लिएपछि फरार रहेका उनले मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्जमा पुगेर घटना स्वीकारेका हुन् ।

घटनापछि आइबार सबेरै बिहान भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित कोठाबाट मोटरसाइकल चढेर फरार भएका उनी सातदोबाटो हुँदै कलंकी पुगेपछि गायब भएका थिए । कलंकीमा मोबाइलको सिमकार्ड फ्याँकेर गायब भएका उनले अचानक मंगलबार बिहान प्रहरी बृत्त महाराजगञ्ज पुगेर घटना सकारेका हुन् ।

प्रहरीले खोजतलास गरिरहेका बेला अचानक महाराजगञ्ज बृत्त पुगेका उनलाई नियन्त्रणमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरेको थियो । त्यसक्रममा उनले बाबु र भाइको हत्या आफैंले गरेको भन्दै घटना सकारेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी एवम् प्रवक्ता काजीकुमार आचार्यले बताए ।

मिलन आफू धेरै कुरामा तनावमा आएका बेला मन अस्थिर हुँदा घटना हुन गराउन पुगेको बताएका छन् । बुवाले आफूलाई धेरै माया गर्ने गरेको बताउँदै तर बुवाको सपना पूरा गर्न असफल भएको प्रहरीसँग बताएका छन् ।

‘मैले लोकसेवा आयोगमा नाम निकालोस् भन्ने सपना बुवाले बोक्नु भएको थियो । उहाँले मलाई माया गर्नु हुन्थ्यो । तर उहाँको सपना पूरा गर्न सकिनँ । लोकसेवा ७ पटक दिँदा पनि फेल भएँ’, उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म असफल भइरहँदा बुवा पनि ठूलो तनावमा हुनुहुन्थ्यो ।’

आचार्यले लोकसेवामा असफल हुँदा प्रेमिकासँगको सम्बन्ध पनि तनावपूर्ण भएको बताएका छन् । यद्यपि हत्यामा प्रेमीकाको भूमिका नरहेको उनले बताए । उनले बुवा र भाइलाई शारीरिक अभ्यासमा प्रयोग गरिने ड्रमबेल र मसला पिँस्न प्रयोग गरिने सिलौटाले हानेर ज्यान लिएको बताएका छन् । उनले बालकोटस्थित डेराका अलग अलग कोठामा सुतेका बुवा र भाइको ज्यान लिएर आइतबार सबेरै बिहान भागेका थिए ।

प्रहरीका अनुसार उनले बुवा र भाइको ज्यान लिएपछि आफूले पनि आत्महत्या प्रयास गर्दा असफल भएको बताएका छन् । एक प्रहरी अधिकारीले मिलनसँगको संवाद सुनेपछि उनीमा मानसिक समस्या पनि रहेको हुन सक्ने आशंका गरेका छन् । यद्यपि अहिले प्रहरी उनको स्वास्थ्य परीक्षणको चरणमा छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा सोमबार मृत भेटिएका थिए । उनीहरू दुवैलाई शनिबार राति मिलन आफैंले मासुभात पकाएर खुवाएका थिए ।

आइतबार बिहान ३ बजे कोठाबाट निस्किएर बेपत्ता भएका उनी मंगलबार महाराजगञ्ज प्रहरी बृत्तमा पुगेसँगै प्रहरीले पक्राउ गरेको हो ।