बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या, कर्मचारी पक्राउ

बिल तिर्ने विषयमा विवाद हुँदा ललितपुरमा विद्यार्थीको हत्या, कर्मचारी पक्राउ

काठमाडौं । ललितपुरमा एक इन्जिनियरिङ अध्ययनरत विद्यार्थीको हत्या गरिएको छ । च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा सोमबार (हिजो) राति २३ वर्षीय नयन गुरुङको हत्या गरिएको हो ।

उनी च्यासलकै हिमालय इन्जिनियरिङ कलेजको बीई चौथो सेमेस्टरको विद्यार्थी भएको खुलेको छ । ग्राहकका रूपमा उनी रेस्टुरेन्ट पुगेका थिए । चक्कु प्रहार गरी उनको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

गुरुङको हत्या आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेस्टुरेन्टका कर्मचारीत्रय डडेलधुराका हेमराज भट्ट, काभे्रका जनकबहादुर लामा र दार्चुलाका पदमराज भट्ट छन् ।

सोमबार राति नै उनीहरूलाई पक्राउ गरिएका ललितपुरका एसपी नवरत्न पौडेलले  जानकारी दिए । बिल तिर्ने विषयलाई लिएर विवाद हुँदा घटना भएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।

मृतक गुरुङ ललितपुरकै हिमालय कलेजको बीई चौथो सेमेस्टरमा अध्ययनरत थिए ।