ढकालको नेतृत्वमा इजोनको नयाँ कार्यसमिति, को–को आए पदाधिकारीमा ?

ढकालको नेतृत्वमा इजोनको नयाँ कार्यसमिति, को–को आए पदाधिकारीमा ?

काठमाडौँ । ईश्वर राज ढकालको नेतृत्वमा शिक्षा पत्रकार सञ्जाल, नेपाल इजोनको नयाँ कार्यसमिति गठन भएको छ । इजोनको १५ औं साधारणसभा तथा नवौं अधिवेशनले ढकालको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । 

पदाधिकारी तर्फ उपाध्यक्षमा द राइजिङ नेपालकी मन्जिमा ढकाल , महासचिवमा रेडियो कान्तिपुरकी पार्वता चौधरी, कोषाध्यक्षमा अनलाइखबरका दिनेश गौतम, सचिवमा नुनुता राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रुपेश आचार्य, प्रशान्त ओली, रेडियो कान्तिपुरकी सुनिता लोहनी र शिलापत्रका दिपेन्द्र अधिकारी चयन भएका छन् । ११ सदस्यीय कार्यसमितिमा दुईजना सदस्य भने मनोनयन गर्ने इजोनको तयारी छ ।

नेपाल समाचारपत्र दैनिकमा कार्यरत नवनिर्वाचित अध्यक्ष ढकालले शिक्षा क्षेत्रमा भएका बेथितिलाई कलमको माध्यमले उजागर गर्ने बताए । यस्तै शिक्षाका बाहिर आउन नसकेका विषयवस्तुलाई कलमको सहायताले उजागर गर्ने प्रतिबद्धता व्यक्त गरे।

निवर्तमान अध्यक्ष नेपाल टेलिभिजनका रविचन्द्र पराजुलीले शिक्षा क्षेत्रका बेथितिलाई पत्रकारले अझै चिर्न नसकेको बताए । इजोनमा अधिकांश राष्ट्रिय स्तरमा सञ्चारमाध्यममा काम गर्ने पत्रकार रहेकाले समाचार समेट्न सहज हुने उनको भनाई थियो । यस्तै इजोनका सल्लाहकार प्रकृति अधिकारीले पछिल्लो समय शिक्षा क्षेत्रका निकायहरुले पत्रकारलाई औपचारिक रुपमा सूचना नदिने प्रवृति झांगिन थालेको बताए।