हनिट्र्याप काण्डकी इन्स्पेक्टर बिनु शाहलाई आज पनि अदालत लगिँदै

हनिट्र्याप काण्डकी इन्स्पेक्टर बिनु शाहलाई आज पनि अदालत लगिँदै

काठमाडौं । जिल्ला अदालतले थुनामा राख्न पठाइएकी प्रहरी इन्स्पेक्टर बीनुकुमारी शाहीलाई अहिले फेरि अदालत लगिदैछ ।

आइतबार बयानका निम्ति इन्स्पेक्टर शाही आफैं अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । ‘हामीले हिरासतमा राखेको मात्रै हो, मुद्दा सिआईबीले हेरेको छ’, परिसरका प्रवक्ता एसपी नवरत्न पौडेलले बताए ।

ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध ऐन २०७० को महल आकर्षित हुने भन्दै सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । आज उक्त मुद्दामा थुनछेक बहस शुरु हुने अदालत स्रोतले जनाएको छ ।

उक्त मुद्दामा शाहीसहित सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवलदार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका(६ बस्ने ताज मूल भन्ने तजम्मुल इस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मा विश्वकर्मालाई प्रतिवादी बनाइएको थियो । त्यसमध्ये शाही र पोखरेल फरार थिए । सहायक हवलदार हमाल साधारण तारेखमा, थापा र विश्वकर्मा धरौटीमा रिहा भइसकेका छन् ।

थुनछेक बहसपछि शाहीको हकमा तीन वर्ष थुनामा राख्नेसम्मको आदेश हुनसक्छ ।