माधव नेपालपछि विप्लवको पार्टीले पनि गर्यो माओवादीसँग एकता नगर्ने निर्णय

माधव नेपालपछि विप्लवको पार्टीले पनि गर्यो माओवादीसँग एकता नगर्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले नेकपा माओवादी केन्द्रसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेको छ। कपिलवस्तुको शिवगढीमा दुई दिनसम्म चलेको नेकपाको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकता विरोधी भएको भन्दै अब एकताको पहल नगर्ने निर्णय गरेको हो।

यसअघि बसेको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग एकता गर्ने र अरू वामपन्थी शक्तिहरूसँग पनि छलफल गर्ने निर्णय गरेको थियो। सोही अनुरूप नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्डसँग छलफल चलाएका थिए।

माओवादी केन्द्रमा विप्लवलाई महासचिव नै बनाएर ल्याउने विषयमा छलफलसमेत चलेको थियो। अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका नेताहरू भन्दा बरू विप्लवले नै माओवादीलाई सपोर्ट गर्दै आएकोसमेत बताएका थिए। 

‘विप्लव नेतृत्वको नेकपाले एकता गर्ने निर्णय गर्‍यो र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले एकताको बारेमा कुनै छलफल गरेन,’ नेकपाका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले  भने, ‘त्यसैले प्रचण्ड एकताको विरोधी हुनुभयो र एकताको सम्भावना टर्‍यो भन्ने निष्कर्ष निस्कियो।’

यसअघि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत  समाजवादीले पनि माओवादीसँग पार्टी एकता नगर्ने निर्णय गरेको थियो ।