विद्रोही लडाकु राजधानीतर्फ अघि बढेपछि सिरियाका राष्ट्रपतिले देश छाडे

विद्रोही लडाकु राजधानीतर्फ अघि बढेपछि सिरियाका राष्ट्रपतिले  देश छाडे

काठमाडौँ । सिरियाका राष्ट्रपति बशर अल–असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको दावी गरिएको छ ।

हाल सिरियाको राजधानी दमास्कसमा अन्योल र त्रासको वातावरण छ । विद्रोहीहरू दमास्कसको नजिक पुगिरहँदा असादले देश छाडेर भागेको अनुमान गरिएको हो ।पछिल्लो ११ दिनयता जारी विद्रोही र सैनिकबिचको संघर्षमा विद्रोही जित नजिक पुगेका छन् । विद्रोही लडाकुहरू तीनवटा शहर कब्जा गरेर अहिले राजधानी दमास्कस पुगेको सिएनएनले जनाएको छ ।

मिडिया रिपोर्ट अनुसार विद्रोहीको कब्जामा पर्ने डरले राष्ट्रपति बशर अल–असद र उनको परिवारले देश छाडेर रुसमा शरण लिन पुगेको जनाइएको छ । यद्यपि, सिरिया सरकारले असदले देश छाडेर भागेको खबरहरूको खण्डन गरेको छ ।

संघर्षका कारण अहिलेसम्म ३ लाख ७० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाइएको छ । पछिल्लो पटक सिरियामा २७ नोभेम्बरमा सिरियाली विद्रोही हयात तहरीर अल शाम र सरकारबिच संघर्ष सुरु भएको थियो । त्यसपछि विद्रोहीले १ डिसेम्बरमा उत्तरी शहर अलेप्पो कब्जा गरेका थिए । साथै उनीहरूले ४ दिनपछि हमा कब्जा गरे । त्यसपछि ७ डिसेम्बरमा दक्षिणी सहर दारा कब्जा गरेर अघि बढेका थिए ।