काठमाडौँ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली विद्यार्थी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी साहसँग दश लाख अमेरिकी डलर धरौटी माग गरिएको छ ।
ह्युस्टनस्थित एक अदालतमा भएको सुनुवाइमा न्यायाधीशले अभियुक्त बबीसँग सो धरौटी रकम माग गरेका हुन् । बबीका वकिल विल्भिन कार्टरले उक्त धरौटीलाई ५ लाख डलरमा घटाउन आग्रह गरेका थिए तर, न्यायाधीशले उक्त अनुरोध अस्वीकार गरेका छन् ।
‘यो धेरै उच्च छ, साह गरिब हुनुहुन्छ, उहाँसँग एक मिलियन डलरको बन्ड बनाउन कोष छैन,’ कार्टरले भनेका थिए । गत अगष्ट २४ मा आफ्नै अपार्टमेण्टमा गोली हानी मारिएकी पाण्डेको हत्या अभियोगमा हाल ह्यारिस काउण्टी जेलमा रहेका साहलाई घटनाको केही दिनपछि स्थानीय प्रहरीले पक्राउ गरेको थियो ।
साहले १० लाख डलर धरौटी बुझाउन सके जेल बाहिर बसेर मुद्दा लड्न सक्ने क्लिकटुह्युस्टनले जनाएको छ । स्नातक अध्ययनका लागि सन् २०२१ मा अमेरिका गएकी २१ वर्षीया पाण्डे ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय पढ्थिन् ।