काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली नेतृत्वको टोली सोमबार चीनको राजधानी बेइजिङ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, मन्त्रीहरू र मुख्यसचिव लगायत उच्च पदस्थ कर्मचारीहरूले बिदाइ गरेका छन् ।
प्रधानमन्त्रीको टोलीमा चीन भ्रमण गर्ने सरकारी र निजी क्षेत्रका गरी ७९ जना रहेका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई मङ्सिर १८ गते चिनियाँ समकक्षी छ्याङले स्वागत गर्नेछन् । त्यसपछि दुई पक्षीय वार्ता र हस्ताक्षर समारोह हुने कार्यक्रम छ । मङ्सिर १८ गते नै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफङसँग भेटवार्ता गर्नेछन् ।
मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्नेछन् भने बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मङ्सिर १८ गते नै सङ्ग्रहालय भ्रमण गरेर ओली मङ्सिर २० गते स्वदेश फर्कने छन् ।
भ्रमण टोलीमा को को छन् ?
प्रधामन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना गरी ८७ जना रहेका छन्। सरकारी खर्चमा चीन भ्रमणमा जानेहरूमा प्रधानमन्त्री,सांसद, सरकारी अधिकारीहरू रहेका छन्। भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल,प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा रहेका छन्।
त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ,अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन्।
त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी छन्।
त्यस्तै परराष्ट्र मन्त्रालयका सिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन्।
त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य,परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंह पनि भ्रमण टोलीमा सहभागी हुनेछन्।