सौर्य जहाज दुर्घटना प्रकरण– मृतक प्रिजाका बाबुले दिए यस्तो उजुरी

सौर्य जहाज दुर्घटना प्रकरण– मृतक प्रिजाका बाबुले दिए यस्तो उजुरी

काठमाडौं । गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको विषयलाई लिएर न्याय र छानबिनको माग राख्दै संसदीय समितिमा उजुरी परेको छ । कञ्चनरुप नगरपालिका सप्तरी घर भई हाल बालकोट भक्तपुर बस्दै आएका प्रकाश खतिवडाले संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी हालेका हुन् ।

उक्त दुर्घटनामा खतिवडाले छोरी प्रिजा खतिवडा, ज्वाइँ मनुराज शर्मा र नाति अधिराजलाई गुमाएका थिए । सौर्य जहाज दुर्घटनाको मुख्य कारण एयरलाईन्स व्यवस्थापन पक्षको जानाजान लापरवाही, प्राविधिक त्रुटि र मानवीय कमजारी भएको उनले दाबी गरेका छन् ।

उक्त कुरा सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको भन्दै खतिवडाले आफू एयरलाइन्स, नागरिक उड्डयन कार्यालय, पर्यटन मन्त्रालय, प्रधानमन्त्रीलगायत विभिन्न निकायमा छानबिन र कारवाहीको माग लिएर याचना गरेपनि न्याय नपाएको गुनासो गरेका छन् ।

१२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत् छोरी प्रिजालाई फर्जी कागजात बनाएर सौर्यको व्यवस्थापनले एयरलाइन्सको कर्मचारीको नक्कली कर्मचारी बनाएको उनको भनाइ छ ।

पर्यटनमन्त्री बद्री पाण्डेले प्रिजालाई सौर्यकै कर्मचारी भनेर संसदमा बोलेको भिडिओ रेकर्ड र एयरलाइन्सका अध्यक्षसहितको अडियो पनि उनले प्रमाणका रूपमा पेश गरेका छन् ।

‘घटना भएको जहाजको उडान नै गैरकानुनी उडान हो । २१ वर्ष पुरानो ३४ दिन देखि ग्राउडेड सो जहाजको उक्त दिनको उडानलाई ‘फेरी उडान’ भनिएको छ । उक्त तथ्यलाई सरकारी आयोगको प्रारम्भिक प्रतिवेदनले समेत पुष्टि गरेको छ । फेरि उडान गर्दा ५ जना भन्दा बढी र उडानसँग असम्बन्धित यात्रु बोक्न नपाइने स्पष्ट कानूनी व्यवस्था छ । ‘फेरी उडान’ लाई प्राबिधिक भाषामा प्रारम्भिक मर्मत सम्हार गर्न लगिएको उडान भनिन्छ । यसरी गैरकानूनी उडानमा कानून विपरीतका यात्रु बोकेर १८ जनाको नरसंहार गरिएको छ’, खतिवडाको उजुरीमा उल्लेख छ ।

छानबिन गर्न गठित आयोगमा नातेदार र योग्यता नपुगेका व्यक्ति राखिएको भन्दै उनले समितिमाथि पनि प्रश्न उठाएका छन् ।