काठमाडाैं। तपाईँलाई निदाउन कठिन हुन्छ वा निद्रा पर्दैन भने त्यसको समाधान एउटा कलम र कागजले दिनसक्छ।
तपाईँलाई निदाउन मुस्किल हुन्छ भने सायद भोलिपल्ट गर्नुपर्ने काम कति धेरै छ भन्ने चिन्ताले तपाईँलाई जागै राखेको हुनसक्छ।
खासगरी तपाईँले कुनै काम सुरु गरिसक्नुभएको छ तर सकाउनुभएको छैन भने।
जर्मन आइटी कम्पनीमा काम गर्ने मानिसहरूमा गरिएको एक अध्ययनमा जो मानिसले सप्ताहान्त अगाडि आफ्नो जिम्मामा रहेका काम सकेका हुँदैनन् उनीहरूले बिदाको दिनमा पनि त्यो कामका बारे धेरै सोच्ने गर्छन् र चिन्तित रहन्छन्।
तर जस्ले कार्यालयमा आफ्नो जिम्माको काम सिद्ध्याउनै लागेको हुन्छ उसले कामलाई लिएर सप्ताहान्तमा कम चिन्ता गर्छ।
युनिभर्सिटी अफ ट्रिइरका अनुसन्धानकर्ता क्रिस्टिन साइरेकले लेखेकी छन् उनीहरूले गरेको अनुसन्धानको नतिजाले देखाए अनुसार "हप्ताभरिको समयमा आफ्नो जिम्माको काम पूरा गर्न सकिनँ भन्ने भावनाले कामदार मानिसका विचारहरूलाई बेचैन तुल्याउने गर्छ र सप्ताहान्तको छुट्टीको बेलामा पनि राम्ररी निद्रा पर्न दिँदैन, जुन समयको चापका कारण पर्ने दबाबभन्दा पनि परको कुरा हो।"
यस्का लागि अनुसन्धानकर्ताहरूले मनोविज्ञान शास्त्रमा प्रयोग हुने एक शब्दावली "पर्सिभरेटिभ कगनिसन्स"को उल्लेख गरेका छन्। त्यो भनेको विगतमा भएका नकारात्मक कुराहरू वा भविष्यमा हुनसक्ने त्यस्ता कुराहरूको सम्भाव्यताका विचारहरू निरन्तर दिमागमा आइरहनु हो। त्यस्तो हुनेहरू सप्ताहान्तमा पनि आफ्नो निद्रा बिथोलिएको महसुस गर्छन्।
तस्बिरको क्याप्शन,भोलिपल्ट गर्नुपर्ने कामहरूको सूची तयार पार्यो भने मात्रै पनि त्यसले छिट्टै निद्रा लाग्न सहयोग पुग्न सक्छ
खासगरी आइतवारको रातिको समय विशेष कठिन हुनसक्छ। त्यो दिन बिहान तपाईँ धेरैबेर ओच्छ्यानमै बसिरहनुभएको छ भने राति सुत्ने बेला तपाईँलाई निद्रा अरू दिनजस्तो नलाग्न सक्छ। भोलि फेरि काममा जानुपर्छ र सबै अपूरा कामहरू गर्न थाल्नुपर्छ, त्यसमाथि नयाँ काम पनि पक्कै थपिनेछ भन्ने विचार मनमा हावी हुन्छ। त्यसो भए यस्ता चिन्ताजनक कुराहरूले गर्दा निद्रा परेको छैन भने के गर्न सकिन्छ त?
पहिलो त चिन्ताबाट टाढाको संसारमा पुर्याउने पुस्तकहरू केही बेरका लागि पढ्न सक्नुहुन्छ। आफ्नो सास नियाल्ने र शरिरका संवेदना ख्याल गर्ने जस्ता ध्यानका अभ्यास पनि गर्न सकिन्छ। अथवा बत्ती बालेर आफूले गर्नुपर्ने कामहरूको एउटा सूची पनि तयार गर्न सक्नुहुन्छ।
आफूले पूरा गर्नुपर्ने जुन कामहरूले चिन्तित बनाइरहेको छ तिनीहरूको एउटा सूची बनाउन सुझाव दिइएको छ। त्योभन्दा बाहेकका अरू गर्नुपर्ने कामहरू पनि त्यस्तो सूची वा समयतालिकामा लेख्न सकिन्छ। अमेरिकामा गरिएको एउटा अध्ययनले आफूले भोलि गर्नुपर्ने सबै कामहरूको एउटा तालिकाबद्ध सूची तयार पार्ने अभ्यास गर्दा त्यस्ले अचम्मसँग फाइदा हुने देखाएको छ।
खासमा, अमेरिकास्थित बेइल युनिभर्सिटीमा रहेको स्लिप न्युरोसाइन्स एन्ड कग्निसन लेबोरेटरीका निर्देशक माइकल स्कलीनले दुई वटा समूह मध्ये एउटा समहका मानिसलाई चाहिँ त्यो दिन उनीहरूले के हासिल गरे भनेर लेख्न लगाए भने अर्को समूहका मानिसलाई चाहिँ भोलिपल्ट वा आउँदा केही दिनमा गर्नुपर्ने कामहरूको सूची लेख्न लगाए। यही दोस्रो समूहका मानिसलाई छिटो निद्रा लागेको थियो।
र, कति छिटो? नौ मिनेट वा त्यो भन्दा कम। वैज्ञानिकहरूले स्वयंसेवीहरूले आफैँ गरेको अभ्यासमा भर परेनन् (त्यो कहिलेकाहीँ ठ्याक्कै नहुन सक्छ), तर उनीहरूले निद्राबारे अध्ययन गरिने पोलिसोम्नोग्राफीको माध्यमबाट उनीहरू अनिदो नै छन् वा निदाए भन्ने पुष्टि गरे।
पोलिसोम्नोग्राफी गर्दा व्यक्तिको टाउको र शरीरका अन्य भागमा सेन्सर राखिएको हुन्छ र त्यसैबाट मस्तिष्कको तरङ्ग, सास र हलचल अनुगमन गरिन्छ।
स्कलीनको अध्ययन ठूलो नभए पनि मनोवैज्ञानिक संरचनाले त्यस्तो परिणाम किन आयो भनेर व्याख्या गर्न सक्छ। यसलाई 'कोग्निटिभ अफलोडिङ' भनिन्छ र मानसिक चाप कम गर्न जब मानिसले शारीरिक काम गर्छ त्यस्तो बेला यस्तो हुन्छ।
कुनै पनि बाटोमा जब तपाईँ नक्सा खोलेर हेर्नुहुन्छ र तपाईँका अगाडि जस्तो खाका देखिन्छ त्यो कोग्निटिभ अफलोडिङको उदाहरण हो। आफूलाई कामप्रति उन्मुख गराउनका लागि तपाईँ केही मानसिक तनाव कम गर्न सक्नुहुन्छ र त्यसो गर्दा काम गर्न सही निर्देशनका लागि केही सहज हुन्छ।
सुत्ने समयमा गर्नुपर्ने कामहरूको सूची लेख्दा तपाईँले आफ्नो दिमागबाट ती कामहरूलाई कागजमा 'डाउनलोड' गर्नुहुन्छ। (तपाईँले त्यो सूची फोनमा पनि बनाउन सक्नुहुन्छ तर तपाईँ सामाजिक सञ्जाल चलाउने वा इमेल चेक गर्नेतर्फ चाहिँ हेलिनु भएन)।
त्यसरी लेख्दा निदाउन कोसिस गरिरहेका बेला त्यसबारे सोच्नुपर्ने आवश्यकता कम हुन्छ। र त्यो कुरा दिमागमा घुमिरहनुको सट्टा एउटा क्रममा बस्छ। साथै ती काम बिर्सिने चिन्ता पनि हुनेछैन।
गर्नुपर्ने कामको शिर्षक मात्रै लेख्नुभन्दा पनि प्रत्येक कामको सूची बनाउनु उत्तम हुन्छ, चाहे त्यो सूची लामै किन नहोस्। प्राध्यापक स्कलीनको अध्ययनले व्यस्त मानिसहरू जसले १० वटा भन्दा बढी कामहरूको सूचि तयार गर्छन् उनीहरू कामको सूची नलेख्नेभन्दा औसतमा १५ मिनेट चाँडै निदाउँछन्।
उनीहरू पनि छोटो सूचि बनाउनेको तुलनामा छ मिनेट छिटो निदाउँछन्। त्यसैले आफ्नो सूचिलाई बृहत् बनाउनुहोस्।
सुत्न जाने बेला र आफू थकित भएको बेला यी सबै गर्नका लागि गाह्रो काम जस्तो लाग्न सक्छ। तर यो गर्नु फलदायी हुनसक्छ। गर्नुपर्ने कामको सूचि तयार गर्दा यसले तपाईँको जीवन कम व्यस्त बनाउँदैन तर तपाईँलाई निदाउन र कम चिन्ता गर्न भने मद्दत गर्न सक्छ। र भोलि तपाईँलाई पहिला नै थाहा छ कि तपाईँले गर्नुपर्ने कामहरू के के छन् भनेर र तपाईँ एक कदम अगाडि हुनुहुनेछ।