काठमाडौं । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीले न्याय पाउनुपर्ने माग राखेर आन्दोलन गरिरहेकाहरूसँग सरकारले सम्झौता गरेको छ ।
गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षको तर्फबाट रुबी खानले सम्झौतामा हस्ताक्षर गरेका हुन् । रुबी खानलगायत महिलाहरूले २५ साउनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका थिए । उनीहरूले निर्मला कुर्मीको मुद्दा अदालत पुर्याउनुपर्ने मुख्य माग राखेका थिए ।
०७६ मा निर्मलाको शंकास्पद मृत्यु भएको थियो । मृत्युपछि उनको सम्पत्ति हिनामिना भएको थियो । कुर्मीको मृत्यु र उनको सम्पत्ति हिनामिनाबारे प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाइसकेको भए पनि जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले मुद्दालाई अदालतमा पुर्याएको छैन ।