काठमाडौँ । पार्टी सभापति रवि लामिछानेको रिहाइ माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार गरेको बालुवाटार केन्द्रित प्रदर्शनका क्रममा पक्राउ पर्नेको सङ्ख्या ५१ जना पुगेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोज्ने नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । उनीहरूलाई विभिन्न प्रहरी वृत्तमा राखिएको छ। प्रदर्शनको सुरुमै केही नेता कार्यकर्ता पक्राउ परेपनि अहिले निषेधित क्षेत्र नजिक रास्वपाको प्रदर्शन जारी छ ।
पार्टीले पक्राउ परेका नेता कार्यकर्तालाई आधा घण्टाभित्र छाड्न अल्टिमेटम दिएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सांसद हरि ढकालले भने‚‘आधा घण्टाको बिचमा प्रहरीले हाम्रा साथीहरू छुटाएनन् भने हाम्रो आजको आन्दोलन सशक्त पार्छौँ।’