अस्पतालको पार्किङमा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार

अस्पतालको पार्किङमा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार

काठमाडौँ । काठमाडौंको लाजिम्पाटमा नुवाकोटका एक जग्गा व्यवसायीमाथि अन्धाधुन्ध रड प्रहार भएको छ । आपराधिक पृष्ठभूमिको समूहले नुवाकोटका जग्गा व्यवसायी विक्रम लामामाथि आइतबार लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङभित्रै अन्धाधुन्ध रड प्रहार गरेको हो ।   

प्रहरीका अनुसार चारजनाको समूहले लामामाथि रड प्रहार गरेको खुलेको छ । रड प्रहारबाट घाइते व्यवसायी लामाको अवस्था गम्भीर छ । उनको चक्रपथस्थित ग्रीन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनलाई आईसीयूमा राखिएको प्रहरी स्रोतले जानकारी दिए । 

घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटकै मार्सल तामाङ छन् । अन्य तीनजनाको खोजी गर्न काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ ।

अस्पतालको सीसीटीभी फुटेजमा देखिएअनुसार व्यवसायी लामा पुग्नुअघि नै उनीहरू अस्पतालको पार्किङ क्षेत्रमा पुगेको देखिन्छ । त्यसपछि सेतो रङको निजी कारसहित पाकिङभित्र छिरेका लामालाई केही समयमै उनीहरूले अन्धाधुन्ध रड प्रहार गरेको देखिन्छ । चारजनाकै समूहले लामा बेहोस नहुँदासम्मै प्रहार गरेको फुटेजमा देखिन्छ ।