रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, रविलाई पनि ल्याउने तयारी

रुपन्देहीमा छविलाल जोशीको बयान सुरु, रविलाई पनि ल्याउने तयारी

रुपन्देही । सहकारीको रकम अपचलन आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटर्वकका तत्कालीन उपाध्यक्ष छविलाल बन्जाडे (जोशी) को रुपन्देहीमा बयान सुरू भएको छ । अनुसन्धानमा रहेका छविलाई प्रहरीले हिजो पोखराबाट जहाजमा भैरहवा ल्याइएको थियो ।

सुप्रिम बहुउद्देश्यीय सहकारी संस्थाबाट झण्डै १४ करोड रकम गोर्खा मिडिया नेटवर्कको खातामा गएको प्रहरी अनुसन्धानले देखाएको छ । सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख डीएसपी विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहित प्रहरीहरूले अहिले छविको बयान लिइरहेका छन् ।

भित्र छविको बयान चलिरहँदा सहकारी पीडितहरूले बचत फिर्ताको माग राख्दै नारावाजी गरिरहेका छन् । उनीहरुले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीवी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोपसमेत लगाएका छन् । बचत रकम फिर्ता गर, हाम्रो रगत(पसिनाको कमाई फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीवी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् ।

संसदीय छानबिन विशेष समितिले कारवाही सिफारिस गरेपछि असोज ६ गते जोशी काठमाडौंबाट पक्राउ परेका थिए । जोशीलाई बयान सकिएपछि पुनः पोखरा नै फिर्ता गरिने जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता डीएसपी लक्ष्मी खनालले बताइन् ।

रुपन्देहीमा छविलाल प्रहरी प्रमुख भएर लामो समय बसेका थिए । अहिले पनि यहाँ रहेको दुई क्यासिनोमा उनको लगानी रहेको व्यवसायीहरू बताउँछन् ।
पोखराको सूर्यदर्शन सहकारीसँगै बुटवलको सुप्रिम सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम गएको देखिएकाले छविलाई जस्तै पोखरामा रहेका रविलाई पनि रुपन्देही ल्याइने प्रहरी स्रोतले बतायो ।

रुपन्देहीका सुप्रिम सहकारी पीडित संघर्ष समिति नै बनाएर निरन्तर आन्दोलनमा छन् । समितिका संयोजक विजय नेपालले आफूहरूले न्याय नपाउँदासम्म आन्दोलन नरोक्ने बताए ।