न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत

न्यायपालिकालाई लयमा फर्काउनेछु : प्रधानन्यायाधीश राउत

काठमाडौं स् प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझै प्रभावकारी र समृद्ध रुपमा अघि बढाउने बताएका छन्। सोमबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरुसँगको सामूहिक भेटमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

नवनियुक्त प्रधानन्यायाधीश राउतले आफूसँग निष्ठा र निष्कलंक छवि भएका न्यायाधीशहरु रहेको दाबी गर्दै उनीहरुको जोडबलमा न्यायपालिकालाई लयमा फर्काउने कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउने अठोट र संकल्प लिइएको पनि बताए।

अदालतभित्र अफ्ठयाराहरु, असहज परिस्थितिहरु रहेको उल्लेख गर्दै उनले त्यसलाई सल्ट्याउने दायित्व पूरा गर्ने बताए। प्रधानन्यायाधीश राउतले न्यायालयमा देखिएको चुनौती हटाउने काममा आफूहरुले सञ्चारकर्मीहरुबाट साथ र सहयोगको अपेक्षा गरेको पनि बताए।

उनले भने, ‘यो अदालत भनेको सबैको अदालत हो। नागरिकको हक र अधिकारको लागि यो अदालत प्रतिवद्ध छ। म के भन्न चाहन्छु भने कि हाम्रो देश सानो छ। जताततै चुनौती छ। राज्यको चौथो अंगमा पनि चुनौती देखिन्छ। हाम्रा अडडा अदालतमा पनि निकै छन्। यताको म नैतिक जिम्मेवारी लिन तयार छु। मैले तपाईहरुलाई फेरि पनि दोहोर्‍याएर भन्छु–हामीसँग निष्ठा छ। र निष्कलंक छवि भएका न्यायाधीशहरु छन। त्यसको जोड र बलमा न्यायपालिकाले जसरी अहिलेसम्म आफ्नो एउटा हैसियत लयमा फर्काउने जो आफ्नो हैसियत प्रदर्शन गरेको छ। यसलाई अझ प्रभावकारी र समृद्ध रुपमा यसमा लैजाने हामीले अठोट र संकल्प गरेका छौँ।

त्यस अवसरमा प्रधानन्यायाधीश राउतले  देश, जनता, संविधान र प्रेसको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीहरुसँगै हिँड्ने, सहकार्य गर्ने प्रणसमेत गरे।