मदिरा सेवनले स्वास्थ्यमा कति र कस्तो जोखिम?

मदिरा सेवनले स्वास्थ्यमा कति र कस्तो जोखिम?

काठमाडाैं। विश्वका धेरै ठाउँमा मदिराविना भोज अपूर्ण हुन्छन्। कतिपयका लागि अपरिचितहरूसँग खुलस्त कुरा गर्ने मेसो एक गिलास वाइनले पनि जुटाइदिन्छ।

मानिसहरू विभिन्न कारणले पिउँछन्–कुनै विषयको उत्सव मनाउन, जमघट गर्न, ध्यान अन्यत्र दिन वा तनाव बिर्सन। विगतमा केही अनुसन्धानहरूले थोरै मात्रामा रेड वाइन जस्ता अङ्गुरबाट बनेका मदिरा पिउँदा स्वास्थ्यलाई पनि राम्रो गर्ने जनाउने गर्थे।

तर अहिले विश्व स्वास्थ्य संंगठन (डब्ल्यूएचओ)ले मदिरापानबारे स्वास्थ्यको निम्ति मदिराको सही मात्रा यति हो भन्ने नै नहुने जनाएको छ।

बीबीसी विश्व सेवाको कार्यक्रम द फूड चेनले मदिरापानले निम्त्याउने जोखिम र अनुमानित फाइदाबारे विश्लेषण गरेको छ।

डब्ल्यूएचओको पछिल्लो प्रतिवेदनअनुसार मदिरापानका कारण विश्वभरि वार्षिक २६ लाख मानिसको ज्यान जान्छ।

पेट तथा स्तनसहित यसले सातथरी क्यान्सर गराउँछ।

डब्ल्यूएचओको विस्तृत अध्ययनले थोरै मदिरापान गर्दा पनि - थोरै भन्नाले बढीमा डेढ लिटर वाइन वा साढे तीन लिटर बिअर वा ४५० एमएल रक्सी – खतराजनक हुने देखाएको छ।

डब्ल्यूएचओको नयाँ निर्देशनले मदिरापानको कुनै सुरक्षित मात्रा नभएको र ‘पिउने मानिसको स्वास्थ्यमा मदिराको पहिलो थोपाबाटै खतरा सुरु हुने’ उल्लेख गरेको छ।

डब्ल्यूएचओको आँकडाले विश्वको प्रतिव्यक्ति मदिरा उपभोग सन् २०१० मा ५.७ लिटर रहेकोमा सन् २०१९ मा अलिकति घटेर ५.५ लिटर भएको देखाउँछ। पुरुष धेरै मदिरापान गर्छन् – उनीहरूले औसत ८.२ लिटर पिउँछन् भने महिलाले २.२ लिटर पिउँछन्।

बर्कशेर इङ्ग्ल्यान्ड निवासी एना टेट, ४४, जस्ता मानिसहरूले मदिरापान चटक्कै छाड्न थालेका छन्।

“म एकदम धेरै त पिउँदिन थिएँ। तर हरेक शुक्रवार पिउँथेँ। कामपछि केही बेर अनि केही जीन पिउँथे अनि मेरा पतिसँग एक बोतल वाइन बाँडेर पिउँथेँ,” टेटले भनिन्।

त्यही प्रवृत्ति शनिवार पनि दोहोरिन थाल्यो। अनि फेरि बिहीवार र आइतवार पनि हुन थाल्यो। तर यो वर्षको सुरुमा उनले म्याराथन दौडको अभ्यास गर्न थालिन्। उनको प्रशिक्षकले मदिरा त्याग्न सल्लाह दिए। उनको पतिले पनि शारीरिक अभ्यास गर्न थालेका थिए र दुवैले मदिरापान छाड्न सके।

“ठूलै परिवर्तन आयो। मैले आफू बलियो र राम्रो भएको अनुभव गरेँ,” टेटले भनिन्। तर कुनै सामाजिक जमघट हुँदा चाहिँ टेटका साथीहरू थोरै निराश हुन्छन् जब उनी र उनका पति मदिरापानमा सहभागी हुँदैनन्।

बभेरिया जर्मनीकी २२ वर्षीया एमिली हाउन्स्टाइन साथीहरूको सहयोग लिएर मदिरापान छोड्न सफल भइन्। “मलाई लाग्थ्यो मदिरापान नगर्दा रमाइलो रात्रि हुँदैन।” तर उनलाई ह्याङ्गओभर मन पर्थेन।

“म मदिरापान रोक्न चाहन्थेँ किनभने आइतवार बिहान उठ्दा नराम्रो ह्याङ्गओभर हुन्थ्यो र अघिल्लो रात आफूले के गरेँ भन्ने पनि पत्तो हुँदैनथ्यो।” आफूले गरेको सुधारबाट उनी प्रसन्न छिन्।

यी दुई महिलाको अनुभवले मदिरापान छाड्नुको स्पष्ट फाइदा देखाउँछ। डा. टिम स्टकवेल क्यानडियन इन्स्टिट्यूट अफ सब्स्ट्यान्स युज रिसर्चका एक वैज्ञानिक हुन्। उनी डब्ल्यूएचओको चेतावनी ठीक रहेकोमा पूर्ण विश्वस्त छन्।

“मदिरा भनेको वास्तवमा खतरनाक नै हो र पिउन सुरु गर्नासाथ खतरा सुरु भइहाल्छ।” उनले १०७ विभिन्न वैज्ञानिक शोधपत्रहरूको ‘मेटा अनालाइसिस’ वा विश्लेषण गरेर न्यून मात्राको मदिरापान र मृत्युबीचको सम्बन्ध फेला पारे।

ब्रिटिश मेडिकल जर्नलले यदि एक सयमा एकको ज्यान जाने जोखिम छ भने त्यसलाई थोरै जोखिम अनि एक हजारमा एकको ज्यान जाने जोखिम छ भने त्यसलाई न्यून जोखिम भनेको छ।

तर थोरै वा न्यून मात्राको मदिरापान भनेको कति हो भन्ने बारे चाहिँ देशैपिच्छे फरक मापदण्ड छ।

यूके सरकारले सातामा १४ युनिट – मध्यम आकारको ६ गिलास वाइन वा बिअरका त्यति नै पाइन्ट – भन्दा धेरै नपिउन सुझाव दिन्छ।

थोरै मात्रामा मदिरापानले स्वास्थ्यलाई राम्रो गर्छ भन्ने विश्वास कमजोर अनुसन्धान विधिले गर्दा बलियो बनेको स्टकवेल ठान्छन्। मानिसहरूलाई अनुसन्धानकर्ताहरूले विशिष्ट प्रश्न नसोधेको तथा तिनको विगतको पिउने बानीबारे नसोधिएको अनि कतिपय महत्त्वपूर्ण पाटा बेवास्ता गरिएको उनले बताए।

“थोरै पिउनेहरू उच्च आय भएका, सन्तुलित खाना खाने, शारीरिक अभ्यास गर्ने, स्वास्थ्योपचारमा राम्रो पहुँच भएका, र दाँत राम्रा र कम्मर मसिना भएकाहरू थिए,” स्टकवेलले भने।

तर सबैले मदिरासँग सम्बन्धित जोखिमलाई चिन्ताजनक ठान्दैनन्।

“दिनमा एक वा दुई ड्रिङ्क गर्नुको खतरा कति भनेर किन यसरी मरिहत्ते गरिन्छ भन्ने नै म बुझ्न सक्दिन,” प्राध्यापक सर डेभिड स्पिगलहाल्टले भने।

उनी यूकेको क्याम्ब्रिज युनिभर्सिटीमा तथ्याङ्कशास्त्रका एमेरिटस प्रोफेसर हुन्। उनले जोखिमबारे यसरी बुझ्नुपर्ने बताए, “गाडी हाँक्नुको पनि कुनै सुरक्षित स्तर हुँदैन। जीवन बाँच्नुको पनि सुरक्षित स्तर हुँदैन। तर कसैले यी चीज त्याग्नु त भन्दैनन्। हामीले फाइदा-बेफाइदाको तुलनात्मक आकलन गर्न सक्नु पर्छ।”

डा स्पिगलहाल्ट खतराको यकीन मापन गर्ने हाम्रो क्षमताबारे नै सन्देह गर्छन्। “मलाई लाग्छ हामीले के स्वीकार गर्नु पर्छ भने मानिसहरूले कुनै कारणले पिउँछन् भने त्यो रमाइलोका लागि हो।”

मदिरापानको पक्ष वा विपक्ष कुनै समूहमा पनि आफू नरहेको भन्दै उनले बीबीसीसँग आफूले थोरै मात्रामा पिएर कसरी मजा लिन्छन् भन्ने बताए।

“पचास वर्षभन्दा धेरै समयसम्म दिनको एक ड्रिङ्क पिउँदा त्यसले जीवनको ६ महिना वा हर दिनको १५ मिनेट जीवन छोट्ट्याउँछ।”

उनले तुरुन्तै अर्को उदाहरण दिँदै दिनको एक घण्टा टेलिभिजन हेर्दा वा साताको दुई पटक बेकन स्यान्डविच खाँदा पनि स्वास्थ्यमा जोखिम हुने बताए।

अनि वयस्क मानिसहरूले उनीहरूका निम्ति के ठीक हो भनेर आफैँ निर्णय गर्न दिनु पर्ने उनी ठान्छन्।

डा. टिम स्टकवेल स्वयं पनि मदिरापान गरेर रमाइलो मान्छन्। उनी यसलाई पूरै त्याग्ने सल्लाह पनि दिँदैनन्।

“यदि तपाईँले मदिरापानलाई गजब र रमाइलो मान्नुहुन्छ भने तपाईँले त्यसबाट तपाईँको स्वास्थ्यमा हुने सानातिना जोखिमलाई ध्यान दिएर सन्तुलन गर्नु पर्छ।”