नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलनमा उत्रिन नेपालको निर्देशन

नदीकिनारको थप २० मिटर खाली गराउने फैसलाविरुद्ध आन्दोलनमा उत्रिन नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपत्यकास्थित नदीकिनारबाट थप २० मिटर जमिन खाली गराउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिन निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले नदीकिनाराका जमीन खाली गराउने अदालतको निर्णयले जनताको निजी सम्पत्तिमाथिको संवैधानिक अधिकार हनन गरेको निष्कर्ष निकाल्दै दबाबमुलक कार्यक्रम थाल्न निर्देशन दिएका हुन् ।

अध्यक्ष नेपालको निर्देशनअनुसार समाजवादी पार्टी जनताको पक्षमा उभिएर अदालतको निर्णयबारे सबै किसिमका सम्वाद गर्दै दबाबमुलक कार्यक्रम गर्ने भएको छ।

पीडित जनतासँग तत्काल अन्तरकृया गरेर पार्टीको धारणा जनतासम्म पुर्‍याउन पनि नेपालले पार्टीका सम्बन्धित कमिटीहरूलाई निर्देशन दिएका छन् ।

उपत्यकाका नेताहरूसहित आइतबार आएको डेलिगेशन टोलीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो निर्देशन दिएको पार्टीका काठमाडौं जिल्ला अध्यक्ष एलपी श्रेष्ठले बताए ।

उनकाअनुसार ललितपुरका जिल्ला अधक्ष हरिकृष्ण थापा र भक्तपुर अधक्ष श्याम बस्नेतसहितको प्रतिनिधिमण्डलसँगको छलफलपछि यो निष्कर्ष निकालिएको हो ।

कार्यक्रममा अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल, उपाधक्षहरू राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, जगन्नाथ खतिवडा र महासचिव घनश्याम भुसालको उपस्थिति थियो ।