उदयपुरको कटारीमा आमा-छोराको हत्या

उदयपुरको कटारीमा आमा-छोराको हत्या

उदयपुर। कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमाछोराको हत्या भएको छ । वडा कार्यालयनजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका अन्दाजी ६ वर्षीय छोरा आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमाछोराको शव देखेका थिए । ‘आमाको शव भुइँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परेको हो”, वडाध्यक्ष खड्काले भने, ‘छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ ।’

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थलतर्फ पठाइसकेको बताए । घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुईवर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए ।

खड्काले भने, ‘तीनसय मिटर पर मूलघर थियो गएराति चाहीँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना भएछ ।’ घटनास्थल पुगेकी कटारीकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रकृया अघि बढेको बताइन् । स्थानीय दीपक राउतले बुधबार साँझ ८ बजेसम्म मूलघरको देवरहरूसँग निर्मलाको फोनमा कुरा भएको बताए ।

‘साना साना देवरहरू थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे । बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ’, राउतले सुनाए ।