अनफलो अभियानलाई लिएर के भन्छ बालुवाटार ?

अनफलो अभियानलाई लिएर के भन्छ बालुवाटार ?

काठमाडौँ । १७ भदौ सोमबार साँझदेखि प्रधानमन्त्री केपी ओलीको फेसबुक पेज अनफलो गर्ने अभियान  चल्यो । यो १८ भदौं मंगलबार बिहानदेखि तीव्र बन्यो । बालेन समर्थकले ओलीको फेसबुक पेज हल्का पार्ने अभियान चलाएको आशंका गरिएको छ । करिब २४ घण्टाभित्र ओलीले ७० हजारभन्दा बढी फलोअर्स गुमाएका छन् । सोसल मिडिया नियालिरहेका एमालेजनको अनुमानमा ओलीको फेसबुक पेज ५ लाख हाराहारी फलोअर्स आसपास आइपुगेर स्थिर हुन सक्छ ।   

आफ्ना अध्यक्षविरुद्ध छेडिएको ‘अनफलो पहिरो’ रोक्न एमाले महासचिव शंकर पोखरेलसहित अन्य नेता र कार्यकर्ता पनि लागेका छन् । यद्यपि, अनफलोको गतिमा ब्रेक लागेको छैन । ओलीको फेसबुक पेजमा घटेको भन्दा तेब्बर बढी फलोअर्स बालेनको पेजमा थपिएको देखिन्छ । कतिपयले यसलाई ओली र बालेनबीचको ‘साइबर युद्ध’को रूपमा पनि लिएका छन् ।

एमाले अध्यक्ष एव् प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो  ‘अनफलो अभियान कसले गर्दैछ, किन गर्दैछ भन्ने छर्लङ्गै छ, यसबाट एमाले हच्किँदैन । हामीले यसलाई खासै गम्भीर रूपमा लिएका पनि छैनौं ।’

यो काम बालेन सचिवालयबाट भएकोमा एमाले नेतृत्व पक्का छ । वडाध्यक्षहरूले बालेनको एकलौटी निर्णयमा संगठित असहमति जनाएको, एक लाख बढी काठमाडौंबासीलाई प्रभावित प्ृर्ने गरी नदी किनार खाली गराउने प्रयासमा असहमति जनाएको लगायत कामको प्रतिक्रियाका रूपमा एमालेले ‘अनफलो’ अभियानलाई लिएको देखिन्छ । प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यले भने, ‘यसरी अनफलो, बहिष्कार गर्ने ट्रेन खराब हो । यस्तो प्रतिशोधले भोलि हामीलाई कहाँ पुर्‍याउँछ ?’

काठमाडौं महानगर प्रमुखको सचिवालयका एक प्रतिनिधिले बालेनको पोस्ट एमालेका कार्यकर्ताको रिपोर्टपछि फेसबुकले हटाएको सत्य भए पनि केपी ओलीलाई अनफलो गर्ने अभियान बालेनको टिमले चलाएको भन्ने आरोप झूठो भएको दाबी गरे ।'ओपन सोसाइटी छ, हामीले कहाँ त्यत्रो मान्छेलाई अनफलो गर भन्न सक्छौँ, मानिसहरूले स्वतस्स्फुर्त गरेका होलान्', उनले भने ।