काठमाडौं। श्रम स्वीकृति बनाउन जाँदा चिनजान भएका श्रम कार्यालय ताहाचलका कर्मचारीले विवाह गर्ने प्रलोभन दिएर बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् ।
जाहेरवाला कविता (गोपनीयताका लागि नाम परिवर्तन) गत वैशाखमा मात्र दुबई पुगेकी थिइन् । आफू दुबई पुगेपछि आरोपी सबिन (नाम परिवर्तन) ले बारम्बार गाली गर्दै पछि सामाजिक सञ्जालमा ब्लक गरेको जाहेरवालाको दाबी छ । त्यसपछि उनले नेपाल फर्किएर जाहेरी दिएकी थिइन् ।
प्रहरीले श्रम कार्यालय ताहाचलका ती कर्मचारीलाई साउन २५ गते पक्राउ गरेको थियो । कविताका अनुसार गत फागुनमा श्रम स्वीकृति बनाउन जाँदा सबिनसँग उनको चिनजान भएको थियो । त्यसपछि सबिनले आफूले श्रम स्वीकृति बनेपछि पठाई दिने भन्दै कविताको नम्बर लिएर उनलाई घर पठाएका थिए ।
फागुन १९ गते सबिनले आफूलाई सुन्धारास्थित एक होटलमा पुर्याएर विवाह गर्ने प्रलोभन देखाएको र घरमा जुठो परेकाले ६ महिनासम्म विवाह गर्न नमिल्ने भएको बताएका थिए । जाहेरवालाका अनुसार उनी १४/१५ वर्ष दुबई बसेर फर्किएकी थिइन् । सबिनले अविवाहित रहेको बताएपछि आफू पनि अविवाहित रहेकाले भविष्यमा उनीसँग विवाह गर्ने सोच बनाएको जाहेरीमा उल्लेख छ ।
गत वैशाख ९ गते उनी विदेश जानका लागि काठमाडौं आएकी थिइन् । दुबई जानुभन्दा अघिल्लो दिन सबिनले भेट्न बोलाएपछि नयाँ बसपार्कस्थित होटलमा पुर्याएको जाहेरीमा उल्लेख छ । ‘त्यस दिन पनि मैले नमान्दा नमान्दै जबर्जस्ती करणी गरे र विदेशबाट फर्किएपछि विवाह गर्नुपर्छ भन्दै प्रलोभन देखाए’, जाहेरीमा उल्लेख छ ।
तर आफू विदेश पुगेपछि सबिनले उनी विवाहित रहेको र छोराछोरीसमेत रहेको कुरा खोलेको कविताले प्रहरीलाई बताएकी छिन्। सबिनविरुद्ध ७ देखि १० वर्ष कैद सजाय माग गरेर काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ। अनुसन्धानका क्रममा सबिनले श्रम कार्यालयमा भेट भएपछि कविता आफैले सम्पर्क गरी सम्बन्ध बढाएको र आफू विवाहित रहेको कुरा उनलाई जानकारी गराएको बताएका छन्।