स्नूकर सञ्चालकको हत्या आरोपमा नजिकै डेरा बस्ने युवक  पक्राउ

स्नूकर सञ्चालकको हत्या आरोपमा नजिकै डेरा बस्ने युवक  पक्राउ

काठमाडौं। शंखमूलमा स्नुकर सञ्चालक रुपक बान्तवा राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–७ घर भइ काठमाडौं बस्दै आएका २२ वर्षीय एमके कुमार छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । राईको हत्या आरोपमा  एमकेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यक्तिगत रिसइबीका कारण उनले राईको हत्या गरेको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब २ बजेतिर रुपक आफ्नै खाजा तथा स्नुकर हाउसको सोफामा गम्भीर घाइते अवस्थामा भेटिएका थिए ।

टाउकोमा धारिलो हतियार प्रहारबाट घाइते भएका उनलाई प्रहरीले उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याएपछि साढे २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । शंखमूलकै साइबाबा पार्कस्थित टहरामा भाडामा बस्दै आएका एमकेको कोठाबाट प्रहरीले घटनामा प्रयोग भएको रड पनि बरामद गरेको छ । त्यस्तै मृतक राईको पर्स, चस्मा, झोला लुगा पनि बरामद भएको परिसरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।