प्रकाशलाई चुमभ्यालीबाट स-सम्मान बिदाई गरिने

प्रकाशलाई चुमभ्यालीबाट स-सम्मान बिदाई गरिने

काठमाडौं । विद्या चापागाईंको युट्यूव सिरज ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ का पात्र प्रकाश तामाङ ‘काले’ यतिखेर चर्चामा छन् । ३५ वर्षअघि काठमाडौंबाट भागेर गोरखाको चुमभ्यालीमा पुगेका प्रकाश तामाङको पुन:स्थापनाका लागि विभिन्न शुभेच्छुकदेखि सरकारसम्मले पहल थालिसकेका छन् ।

प्रकाशको पारिवारिक मिलनले भावुक बनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो एक पटक प्रकाशलाई भेटेर उनको कुरा सुन्न चाहेको इच्छा राखेका थिए । त्यसलगत्तै बालुवाटारबाट उनलाई फोन गयो । प्रधानमन्त्रीले पुन: आज प्रकाशलाई नागरिकताका लागि सहजीकरण गर्न गृहसचिव एकनारायण अर्याललाई बोलाएर निर्देशन दिइसकेको बताएका छन् ।

गृहसचिव अर्याललाई निर्देशन दिँदै गरेको फोटो राखेर ओलीले लेखेका छन्, ‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो । राति १० बजे गृहसचिव एकनारायण अर्याललाई बोलाएर दुई चार दिनभित्रमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनुभएको छ ।’ नागरिकता भए प्रकाशको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने भएकाले पनि यो आवश्यकता पूरा गर्नुपर्ने ओलीको भनाइ छ । 

दशैंमा फेरि फर्किने वाचासहित काले तामाङ पोहोरको दशैंपछि चुमभ्याली साहूकोमै फर्किएका छन् । चुमनुव्री गाउँपालिका-७ छेकम्पारमा रहेका उनी आर्थिक सहयोग जुट्ने र नागरिकता पनि बन्ने अवस्था आएपछि भोजपुर नै फर्किने सोच बनाएको बताउँछन् ।

प्रकाशले एउटा घर र अलिकति जग्गाजमिन भएमा खेती गरेर जीविका चलाउने इच्छा व्यक्त गरे । प्रकाशले ३४ वर्ष बिताएको चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भिडिओ हेरेपछि प्रकाशको बारे विस्तृत कुरा थाहा पाएको बताए ।

‘उनी बसेको ठाउँ गाउँपालिकाको केन्द्रबाट २ दिन टाढा हो । सम्झिएर ल्याउँदा केही वर्षअघि मसँग पनि भेट भएको रछ । तर, उनको भित्री कथा थाहा थिएन । स्थानीय सरकार प्रमुखको हिसाबले म उनलाई हाम्रो पालिकाबाट र साहूबाट समेत स-सम्मान खादा लगाएर भोजपुर पठाउन आजबाटै काम थाल्छु’, अध्यक्ष लामाले भने । वडाध्यक्ष र प्रकाशका साहूसँग कुरा गरेर अहिलेसम्मको श्रम नमर्ने गरी न्यायोचित ज्याला दिलाइने साथै गाउँपालिकाले पनि सहयोग गर्ने उनले सुनाए ।

लामाले भने 'भिडिओ दोहोर्‍याएर/तेहेर्‍याएर हेरेँ । प्रकाशको कथाले सार्है भावुक भएँ । विश्वकै दुर्लभ लाग्यो । प्रधानमन्त्रीज्यूले पनि भेट्न चाहनुभएको रहेछ । उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु । चुमनुव्री गाउँपालिकाको एउटा अभिभावकको नाताले प्रकाश मोक्तान बसिरहनुभएको छेकम्पारका वडाध्यक्षसँग समन्वय गरेर उनलाई आफ्नो घर फर्काउन विशेष पहल गराउँछौं । प्रकाश त्यहाँ बसेको ३४ वर्ष भइसकेको रहेछ । उनको पारिश्रमिको लागि टसी लामा र दाइसँग समन्वय गरेर पहल गर्नेछु ।'

 चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाको थप भनाइ

भर्खरै प्रकाशसँग फोनमा कुरा पनि गरेँ । प्रकाशलाई पनि भनिसकेँ । तपाईँलाई घर फर्काउने, प्रधानमन्त्रीज्यूलाई भेटाउने प्रतिवद्धता गर्छु । प्रधानमन्त्रीज्यूले नेपाल सरकारबाट उहाँलाई गाँसबासको लागि थप सहयोग गर्न आग्रह गर्छु । हामी चुमनुव्री गाउँपालिका, छेकम्पारबाट उहाँलाई स-सम्मानरूपमा एउटा परिवारबाटै छुटेजसरी बिदाईमा कुनै कसर बाँकी राखिने छैन । यसमा स्वयं म नेतृत्व लिन्छु । प्रकाशले वास्तवमा आफ्नो दाजुभाइ-आमा बाबुलाई भेटिरहँदाको भिडिओ अझै झलझली आइरहेको छ ।

उहाँको सहयोगलाई लिएर धेरै साथीहरूको प्रतिक्रिया आएको छ । म सम्मान गर्छु । आवेगमा पनि कुराहरू आएको छ । सबैलाई संयमरूपमा प्रतिक्रिया दिन हुन अनुरोध गर्दछु । म स्वयं गाउँपालिका अध्यक्षको हिसाबले प्रकाशको अभिभावकीय भूमिका निर्वाह गरेर उहाँलाई पठाउँछु । सबै पाहुनालाई सम्मान गरेर पठाउने चुमभ्यालीको विशेषता उदाहरणीय छ । मेरो उहाँसँग कुरा भएको छ । लामो समयसम्म उहाँले बसेर गर्नुभएको श्रमको पारिश्रमिक दिलाएर भोजपुरमा साथीहरूसँग समन्वय गरेर परिवारमा पुन:स्थापना गर्छौं । प्रकाशको बुवालाई म के भन्छु भनेँ- तपाईँका छोरालाई तपाईँ भए ठाउँमा ल्याउने प्रतिवद्धता जनाउँछु ।